नवलपरासी, १८ असार –नवलपरासीका गण्डकपीडितलाई राति निद्रा लाग्दैन । कति बेला डुबान हुने भन्ने पीर लाग्छ । स्थानीय कलावती मुसहर भन्छिन्, ‘भारतले आफूतिर ठूलो बाँध बनाएको छ, नेपालतिर फुट्न थालेको छ । कति बेला नारायणीमा बाढी आउँछ, ठेगान छैन । ठूलो बाढी आएर नेपालतर्फको बाँध फुटायो भने बर्बाद हुन्छ ।’
मौसम पूर्वानुमान शाखाले सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म नारायणी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेपछि यस क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।
गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा परेको र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण गरेको हो । नेपाली भूमि डुबान र कटानमा पार्ने गरी भारतले एकतर्फी बाँध बनाएको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर नं १२ को पूर्वतर्फ नारायणी नदीपारि भारतीय भूमिमा हुने कटान रोक्न बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए ।
शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण भारत बिहारले बाँध निर्माण गरेको हो । उसले भारततर्फको निर्माण कार्य सकेको छ । त्यसो त नेपाली भूमितर्फ पनि बाँध निर्माण भने नभएको होइन तर पानीको बहाव नेपालतर्फ बगिरहेकाले मर्मत हुँदै गरेको बाँधले नदीको पानी छेक्न सक्छ कि सक्दैन भन्ने शंका छ ।
नारायणी नदीमा भारततर्फको गिटी, बालुवा र ढुंगा भारत सरकारले छुन दिँदैन भने नारायणी नदीको नदीजन्य वस्तु निकासी गर्न कानुनी रूपमा प्रतिबन्ध भए पनि नेपालतर्फको भूभागबाट भने क्रसर तथा ट्याक्टर व्यवसायीहरूले दिनहुँ झिक्दा भारततर्फको नदीको सतह अग्लो बन्दै गएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया