मृत्यु भएको दुई साता बित्यो, शव नेपाल आइपुगेन

६ बर्ष अगाडि

रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ ।  गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ । 
 
साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले बताए । 
     
विगत सात वर्षदेखि उक्त नर्सरी कम्पनीमा कार्यरत कार्की २० महीनाअघि छुट्टीमा घर आएर फर्केका परिवारले जनाएको छ । पारिवारिक अवस्था कमजोर रहेका कार्कीको परिवारमा अभिभावक गुमाउनुको पीडा त छँदैछ त्यहीमाथि मृत्यु भएको १३ दिन बित्दासमेत शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताए ।

साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ । “कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन”, ज्वाइँ कार्कीले भने, “सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।” मृतकको शव साउदीस्थित एक अस्पतालमा रहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया