पढाइ छाडेका बालिका पुनः विद्यालयमा

६ बर्ष अगाडि

बाँके – मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए । 
उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान लगाउन सकिन्थ्यो । 

नेपालगञ्जको सल्यानी बङ्गलामा रहेको आधारभूत छात्रा विद्यालयको अवस्था हो यो । नेपालगञ्ज मधेशी र मुस्लिम समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । यहाँका धनी परीवारले बालबालिकालाई निजी विद्यालयमा पढाउँछन् । आयस्तर न्यून भएका अभिभावकको छनोटमा सरकारी विद्यालय पर्ने गर्छ । तर, कतिपय अभिभावक आफ्ना बालबालिकालाई सरकारी विद्यालय पठाउन पनि समर्थ छैन । बालबालिकाले नै श्रम गर्नुपर्ने अवस्था छ । 
नेपालगञ्जमा मात्र करीब दुई हजार ५०० बालबालिका श्रममा रहेको एक तथ्याङ्क छ । 

सरकारी विद्यालयको विद्यालय पोशाक र किताब कापी किन्न नसक्ने भएकै कारण पनि कतिपय अभिभावक विद्यालय पठाउन नसक्ने अवस्थामा छ । अझ मधेशी र मुस्लिम समुदायले उच्च शिक्षाका लागि छोरीलाई कम प्रोत्साहन गर्ने गरेको पाइएको छ । छोरीलाई अर्काको घरमा जाने, केटा भएको विद्यालयमा पढाउँदा सानैमा भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गरिदिने, प्रेम गर्ने डरका कारण विद्यालय नपठाउने गरेको अभिभावकहरु स्वयं बताउँछन् । 

धेरै बालिका शिक्षाको पहुँचबाट टाढा रहेको तथ्यलाई ध्यानमा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ४, सल्यानीवागमा छात्रा विद्यालय सञ्ञ्चालनमा ल्याएको हो । यो यहाँको दोस्रो छात्रा विद्यालय हो । यसअघि सरस्वती माविमा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो । मधेशी तथा मुस्लिम छात्राहरुको शिक्षामा पहुँच पु¥याउन यही शैक्षिक सत्रदेखि सल्यानी बङ्गलामा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले बताए । 

अभिभावकको इच्छा अनुसार छोरीहरुलाई पढ्ने अवसर छात्रा विद्यालयमा भएको उहाँले बताउनुभयो । छात्रा मात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा आएपछि यहाँका मधेशी र मुस्लिम समुदायले पनि छोरी पढ्न पठाउन थालेका छन् । बाहिरी जिल्लाबाट नेपालगञ्ज झरेका, मजदूरी गरी जीवन चलाइआएका, आर्थिक स्थिति कमजोर भएका परिवारले पनि यहाँ छोरीलाई भर्ना गरेका छन् ।

पढाइ छोडेका पनि पुनः भर्ना
नेपालगञ्जकी २६ वर्षीया रविना राई छात्रा विद्यालयमा अध्ययनरत ४ वर्षीया छोरी लिन आएको अवस्थामा भेटिनुभयो । कालो बुर्काले अनुहार छोपेर आउनुभएकी उहाँले आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई यहाँ निःशुल्क भर्ना गराएको बताउनुभयो । यहाँका मधेशी र मुस्लिम समुदायका अभिभावकहरु छोरी बिग्रने र उनीहरु असुरक्षित हुने डरले विद्यालय पठाउन चाहँदैनन् तर, छात्रा विद्यालय खुलेपछि सहज भएको अनुभव उनीहरुले गरिरहेका छन् । 

अर्का अभिभावक नजीर रहमान मधेशी तथा मुस्लिम समुदायमा छोरीहरु पढाउन पठाउन नमान्ने संस्कार अझै रहे पनि छात्रा विद्यालय खुलेपछि सहज भएको बताउनुहुन्छ । केटाहरु पढ्ने विद्यालयमा छोरीहरुले भागेर विवाह गर्ने, चाँडै विवाह गर्ने, केटाहरुले जिस्काउने चिन्ता अभिभावकमा छ । छोरीको पढाइ छुटेकाहरु पनि छात्रा विद्यालय खुलेपछि विद्यालय पठाउन थालेको स्थानीयवासी राविया शाहीले बताए । उनले पनि छोरी यसै विद्यालयमा पढाइरहनु भएको छ । 
कक्षा ७ मा अध्ययनरत छात्रा रोशनी हलवाईले पनि पुनः पढाइलाई निरन्तरता दिनुभएको छ । छात्रा विद्यालय बन्नुका साथै उर्दू भाषामा पनि पढाइ हुने भएकाले पुनः विद्यालयमा पढाइ शुरु गरेको उहाँले बताए । 

मुस्लिम समुदायमा नमाज पढ्न उर्दू भाषा आवश्यक छ । निःशुल्क पढ्न पाइनाका साथै उर्दू भाषामा पनि पढाइ हुने भएपछि मुस्लिम समुदायले छोरीहरु अध्ययनका लागि छात्रा विद्यालयमा पढाउन थालेको उर्दू भाषा पढाउने शिक्षक आरविदा जमाल बताउनुहुन्छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया