काठमाडा – हालै उच्चस्तरीय चिकित्सा आयोगका उपाध्यक्षमा नियुक्त भएका डा श्रीकृष्ण गिरी विगतदेखि नै विवादित पृष्ठभूमिका व्यक्ति भएको पाइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका शिक्षाध्यक्ष समेत रहेका डा गिरीले विद्यार्थीका लागि आएको करिब एक लाख अमेरिकी डलरमा आफै विद्यार्थी बनेर मस्ती गरेको आरोप लागेको थियो ।
सो विषयमा न्यँम्सले छानबनि गरेपनि कुनै सुनुवाई भएको थिएन । उनै भ्रष्ट संस्कारका व्यक्तिलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार दिएर चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाएका छन् । विगतमा उनलाई नजिकबाट चिने जानेहरुका अनुसार उनले पाँच जना विद्यार्थीलाई विदेशमा तालिम दिन आएको रकम उनी एक्लै चार देश घुमेर सकेका थिए ।
विश्व स्वास्थ्य संगठनले न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरूलाई ‘जुनियर डाक्टर ट्रेनिङ’ शीर्षकमा ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्रेरनिङ’ शीर्षकमा वार्षिक १९ हजार युरो दिने गरेको छ । डा.गिरीले विद्यार्थीका तर्फबाट कोही पनि तालिममा जान नमानेको भन्दै सो तालिममा आफै गएका थिए र डब्लुएचओले दिएको रकममा रजाइँ गरेको आरोप लागेको थियो । सो रकममा अध्ययनका लागि पठाउने नामको छनोट न्याम्सको एकेडेमी काउन्सिलले गर्छ, जसको अध्यक्ष डा.गिरी स्वयं थिए ।
कूल ११ सदस्यीय काउन्सिलमा डेढ वर्षदेखि ६ जना मात्रै रहेका थिए । उनीहरू पनि प्राय गिरीले नै नियुक्ति गरेका भएकाले उनलाई निर्णय गराउन कुनै समस्या नभएको न्याम्समा त्यतिबेला उनीसँगै काम गरेका एक चिकित्सकले बताए । डब्लुएचओको पैसामा उनी एक्लैले अस्ट्रेलिया, श्रीलंका, स्विजरल्यान्ड र अस्ट्रिया भ्रमण गरेको ती चिकित्सकले बताए ।
डब्लुएचओले पोस्ट ग्रयाजुएट गरिरहेका चिकित्सकहरूलाई थेसिस लेख्न सिकाउने तथा रिसर्च गर्न सिकाउने उद्देश्यले विदेशमा अध्ययन गर्नका लागि उक्त शीर्षकमा रकम उपलब्ध गराउने गरेको छ । कुनै पनि विद्यार्थी जान नमानेकाले आफू गएको भन्दै डा.गिरीले दावी गर्दै आएका थिए । दातृ निकायको पैसामा विदेशमा गएको कुरा गत ७ भदौमा न्याम्समा भएको छलफलमा उनले त्यतिबेलै स्वीकार गरेका थिए ।
डा गिरीले रेसिडेन्ट चिकित्सकहरूलाई अध्ययनका लागि जाने भनेर सोधेको तर कोही पनि जान नमानेपछि आफै गएको दाबी गरे । तर, उनले त्यस विषयमा कसैलाई नसोधी सुटुक्क निर्णय गराएको भन्दै चर्को विवाद समेत भएको थियो । रेक्टर रहेका गिरीले पनि चिकित्सकले आफूलाई हातपात गरेको भनी सुरक्षाको माग गर्दै उपकुलपतिसमक्ष उजुरी दिएका थिए । पैसा र विदेश भ्रमण भने पनि तीन हात उफ्रेर हिड्ने गिरीले चिकित्सा शिक्षा आयोग कसरी चलाउँछन् त्यो भने हेर्न बाँकी रहेको छ । न्याम्समा जसतै आफै सबै सुविधा लिन्छन् कि चिकित्सा शिक्षामा समेत केही गर्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।
प्रतिक्रिया