काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गर्ने छन। त्यसलगत्तै सी र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको छ।
प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ। भेट लगत्तै द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिऐका छ।
सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।
द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।
सीले यस अघि शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया