नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन् ।
नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई संम्वोधन गर्दै उहाँले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए।
नेपाल, चीन र भारतमा यति बेला सशक्त र शक्तिशाली सरकार रहेको र यस्तो परिस्थितिमा हुन लागेको भ्रमण केवल केही समय आउने र जानेमा मात्र सीमित नहुने विश्वास व्यक्त गरे ।
फरक प्रसङ्गमा उनले माडी क्षेत्रको विकासका लागि आफूले सरकार, निकुञ्ज र कर्मचारीसँंग छलफल गरिरहेको उनको भनाइ थियो । यस क्षेत्रको विकास संवेदनशील, महत्वपूर्ण र चुनौतिपूर्ण छ भन्दै उनले भने “यस क्षेत्रको विकासका लागि जति चुनौती छ त्यति नै महत्वपूर्ण रहेको छ जसका लागि म निरन्तर लागिरहेको छु ।” अध्यक्ष दाहालले पार्टीले छिट्टै महाभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदैसम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकलाई त्यसमा जुट्न आग्रह गरे ।
कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भुसाल एक आदर्श नेता मात्र नभएर कम्युनिष्टका धरोहर रहेको बताउँदै उहाँको आदर्श पूरा गर्न सिड्गो पार्टी लाग्नुपर्नेमा जोड दिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भुसालले समाज र पार्टीलाई छाडेर जानुभएको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढ्दा मात्र उहाँप्रति सच्चा सम्मान हुने बताए । पार्टीको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्दै उनले अब एकीकृत पार्टीका सारा शक्ति र सरकार राष्ट्र निर्माण लगाइने बताए ।
कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज कृष्ण खनाल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललगायतले भुसालको योगदानबारे चर्चा गरेका थिए । जिल्ला अध्यक्ष यमबहाहुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्मृति ग्रन्थ तयारीमा लाग्नुभएका पत्रकार नारायणप्रसाद सापकोटा र शालिक निर्माणमा लाग्नुभएका महानुभावलाई सम्मान गरिएको थियो । यसअघि अध्यक्ष दाहालले माडीको बघौडामा रहेको बघौडा अस्पतालको शल्यक्रिया भवन उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उनले अस्पताललाई १५ शय्याबाट ५० शय्याको बनाउन पहल गरिने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया