नेपालमा भित्रिएको चिनियाँ लगानी तथा प्रविधिले गर्दा नेपालीले चिनियाँ सीप र प्रविधि सिक्न पाएका छन् ।
चीनको आर्थिक तथा प्राविधीक सहयोगमा निर्माण हुन लागेका मेगा प्रोजेक्टका कारण नेपाली प्राविधिक र कामदार दक्ष बन्दै गएका हुन् ।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ विदेशी कम्पनीको काम गर्ने शैली र उनीहरुले ल्याउने प्रविधिबाट नेपाललाई ठूलो फाइदा भएको बताए ।
माथिल्लो तामाकोशीमा कार्यरत चिनियाँ कामदारको कामप्रतिको लगाव तथा कामलाई नै सम्मान गर्ने संस्कार अनुकरणीय रहेको उनको भनाइ थियो ।
सुरुङ निर्माण तथा ठूला आयोजनामा काम गर्ने सीप, दक्षता नेपाली कामदारले चिनियाँ कामदारबाट सिकेको र त्यसले आगामी दिनमा अन्य ठूला आयोजना निर्माण गर्दा उपयोग हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ बताउँछन् ।
आयोजनाको काम धमाधम भइरहदा सिनो हाइड्रोका दक्ष २०० कामदारसँग ८०० बढी नेपाली कामदारलेसँगै काम गरेका थिए । ठूला भौतिक पूर्वाधार निर्माणमा संसारभर नै नाम कमाएको चिनियाँ कम्पनीको सीप र काम गर्ने शैलीले नेपालको ऊर्जा क्षेत्रलाई सहयोग पु¥याएको श्रेष्ठको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी मातहत निर्माण भइरहेका मझौला आयोजनामा रसुवागढी, साञ्जेन, माथिल्लो भोटेकोशी जस्ता आयोजनामा पनि चिनियाले निर्माण गरिरहेका छन् ।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइराला विदेशी कम्पनीको आयोजनाको व्यवस्थापन, परिचालन तथा काम गर्ने शैलीबाट सिकेर नेपाली आफैले ठूला आयोजना निर्माण गर्न सक्छन् भन्ने आत्मविश्वास क्रमशः पैदा हुँदै गएको बताउँछन् ।
निर्माण सामग्री, प्रविधि, उनीहरुको व्यवस्थापकीय क्षमता तथा काम गर्ने शैलीबाट नेपाली कामदार तथा प्राविधिकले धेरै सिक्ने अवसर पाएको उल्लेख गर्दै कोइरालाले भने, “हामीलाई धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको छ । त्यसले आगामी दिनमा थप ठूला भौतिक पूर्वाधार निर्माणका लागि मार्गप्रशस्त भएको छ ।”
चिनियाँ निर्माण व्यवसायी सिनो हाइड्रोले हालैमात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिएको छ । आगामी एक वर्षभित्र सो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोही कम्पनीले प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाको भौतिक निर्माण र बाँधको काम गर्ने जिम्मा पाएको छ । आयोजनास्थलमा निर्माण व्यवसायी परिचालित भइसकेको छ ।
नेपालको प्रविधिको क्षेत्रमा अर्को महत्वपूर्ण फड्को मानिएको विषय हो –टनेल बोरिङ मेसिन ९टिबिएम० । भेरी बबई आयोजनामा टिबिएमको प्रयोग गरियो । जसका कारण नेपालमा मेसिनको युग शुरु भयो, प्रविधिको युग शुरु भयो भन्ने सन्देश स्थापित भएको छ ।
आर्थिक वर्ष २०६८र६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको सङ्ज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का थिए ।
संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै पापड बेल्नुपरेको थियो । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखियो । कूल १२।२१ किलोमिटर लामो सुरुङमार्ग निर्माण गत चैत अन्तिम साता सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३ गते सो सुरुङमार्ग निर्माण सम्पन्न भएको घोषणा गरेका थिए ।
‘ड्रिलिङ एण्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकोमा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाको सुरुङ निर्माणको काम चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप ९कोभेक० ले एक वर्षअघि नै सम्पन्न गरेको हो । नेपालमा सञ्चालित अधिकांश आयोजना समयमा सम्पन्न नहुने र पटक–पटक म्याद थप गर्नुपर्ने समस्या देखिएको बेला सुरुङ निर्माणको काम समयमै सकिएको हो । चिनियाँ ठेकेदारले समयमा नै सो आयोजनाको आफ्नो जिम्माको काम सक्नु र प्रविधि हस्तान्तरणको प्रक्रिया पनि सँगसँगै आएको छ ।
प्राधिरकणले निर्माण गरिरहेका अधिकाशं प्रसारणलाइन तथा जलविद्युत् आयोजनामा चिनियाँ प्रविधिको प्रयोग भइरहेको छ । यसले जनस्तरको सम्बन्धको विस्तार मात्रै नभइ आगामी दिनमा नेपाली निर्माण व्यवसायी स्वयम्ले पनि रणनीतिक महत्वका आयोजना निर्माण गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।
सो आयोजनाको बाँध तथा विद्युत् गृह बनाउन गत साउनमा रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन कम्पनीसँगको संयुक्त उपक्रमले ठेक्का पाएको छ । रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमण महत्तो विदेशी सीप र काम गर्ने क्षमतालाई नेपालमा ल्याउने र आगामी दिनमा नेपाली व्यवसायीले नै काम गर्न सक्ने वातावरण भेरी– बबईमा आफूहरुले चिनियाँ कम्पनीसँग सहकार्य गरेको बताउँछन् ।
यस्ता केही उदाहरणले विदेशी सीप र प्रविधि सिकेर देशभित्रै दक्षजनशक्ति उत्पादन गर्ने सार्थक पहलमा सरकार सफल हुँदै गएको देखिन्छ । ठूला भौतिक पूर्वाधार निर्माणमा सरकारको योजनालाई यस्ता सहकार्यले थप सबल बनाउँदै गरेको छ । रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतो चिनियाँलगायत विदेशी कम्पनीको कामप्रतिको जिम्मेवारी, काम गर्ने शैली, उनीहरुले सोच्ने तरिका र अनुभवले नेपाली निर्माण व्यवसायीलाई थप दक्ष बनाउने विश्वास व्यक्त गर्छन ।
प्रतिक्रिया