आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीमा अहिलेकाे पुस्ता माग्ने मात्रै भयाे : मुख्यमन्त्री शाही

६ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् । 
     
कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले हामीले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीले बताए । “स्याउ, सिमी लगायतका जे जे उत्पादन हुन्छन्, त्यसको उत्पादन वृद्धि गर्नुहोस्”, उनले भने ,“हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छौं, पैसा पठाएको छौं ।”     
     
उनले कर्णालीमा विगतमा आफै उत्पादन गरेर विक्रि गर्ने भएपनि अहिलेको पुस्ता माग्ने पुस्ता भएको टिप्पणी गरे । “हाम्रो विगतको पुस्ता आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता हो, अहिले कोही आयो कि माग्ने काम मात्रै भयो ”  मुख्यमन्त्री शाहीले भने ।      
     
मानिसमा सामाजिक सेवा भावना हराउँदै गएको र सामाजिक सेवाका नाममा व्यक्तिले फाइदा लिने प्रवृति हाबी हुँदै गएको मुख्यमन्त्री शाहीले बताए ।
     
कर्णालीमा विकासका लागि पैसाको अभाव नभएको उनको भनाइ थियो ।“तर, उपभोक्ता समिति, ठेकेदारले आफूले पाए ठिक आफूले नपाए अदालत अख्तियारमा मुद्दा गर्ने र विकास हुन नदिने प्रवृति हाबी भयो ”, उनले भने । 

६ बर्ष अगाडि

प्रतिक्रिया