धानको बाला नलागेपछि किसान चिन्तित

६ बर्ष अगाडि

दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । 

बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन । धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ । 

लमही नगरपालिका–३ टिकुलीगढ र मजगाउँका कृषक खेतमा रोपिएको धानको नाम हो ‘गरिमा’ । किसान छविलाल चौधरीले मात्रै करीब १५ कट्ठामा खेतमा गरिमा जातको धान रोप्नुभएको छ । 

उहाँको खेतमा रोपिएको धान पसाएको छैन । अर्का किसान मनिराम आचार्यले पनि आफूले रोपेको धान नपसाएको भन्दै चिन्ता व्यक्त गरे । “यो राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्थे त्यही भनेर बीउ किनेर ल्याएर रोपेको त यस्तो परेछ ।” उनले भने, “बीउ किन्दा पनि अति राम्रो धान हो भन्दै रोप्न सुझाएकाले रोपेको हुँ । यस पटक धान भित्र्याउने नभई पराल भित्र्याउने अवस्था देखिएको छ ।”

मजगाउँका अर्का किसान पुरन चौधरीको व्यथा पनि उस्तै छ । उहाँले रोपेको धानले १०० दिन काटिसकेको छ तर पसाउने लक्षण देखिएको छैन । नौ कट्ठामा रोपेको धान खेतमा धान र घाँस बराबर छ । उनले भने, “धान रोपियो तर, अहिले बाला नै लागेन, यस्तो अचम्म अहिलेसम्म भएको थिएन ।” देउखुरीमा यस्ता थुप्रै किसान छन्, जसले गरिमा धान रोपेका छन् ।

यसपालि धानको बीउले धोका दिएकाले चामल किनेर खाने अवस्था आउने चिन्तामा किसान छन् । पसाउन नसकेको सबै धान गरिमा जातको धान हो । अरु जातको धान सबै ठाउँमा पहेँलपुर भई सक्यो कतै बाला झुलेका छन् । 

खासमा गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचीकृत गरेको बीउ हो । यो धान सालाखाला ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइ सक्नुपर्ने कृषिज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।  “सय दिन पुगिसक्दा पनि धान अझै पसाएको छैन, अब धान फल्ला भन्ने अवस्था छैन ।” उनले भने, “कृषकको खेतमा धान नपसाएको भन्ने खबर थाहा पाएर खेतमै पुगेर अवस्था बुझेको छु ।”

कृषिज्ञान केन्द्र प्रमुख बस्नेतले धानको बोटको अवस्था हेर्दा धान पसाउने अवस्था नरहेको प्रष्ट देखिएको बताए । 

अबको मौसम चिसो हुँदै गएकाले धान पसाउन सम्भावना कम हुँदै गएको उहाँको भनाइ छ । गत वर्ष यही जातको धान रोपेका उनै कृषकले राम्रो उत्पादन गरेका थिए । 

दाङसहित चितवन, नवलपरासी, र बाँकेमा गरिमा जातको धानको बीउ बिक्री गरिएको थियो । बिक्री गरेका सबै ठाउँमा यही समस्या देखिएको छ । छिमेकीको खेतमा अन्य जातको धानको बाला झुलिसकेका छन् । तर, गरिमा धान रोपेका किसानको खेतमा धान बाला नलागेर ठाडो परेको छ । जसले गर्दा किसान निरास छन् ।

अन्य जातको बाला लागेको धान

उक्त जातको धानको बीउ नेपालमा सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको होे । धानको बीउ वितरणको विषयमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रमुख सुनिता चौधरीसँग बुझ्दा उहाँले भारतबाट नै प्याकिङ भई लेभल लगाएर ल्याइने गरेको बताए । उनले भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटि भएको हुनसक्ने आशङ्का व्यक्त गरे । तर यसको आधिकारिक टुङ्गो ल्याब टेष्टबाट हुने भएकाले अहिले नै यही हो भन्न सकिने अवस्था भने नरहेको उहाँको भनाइ छ । रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बीउ २१ टन बढी बिक्री भएको देखिन्छ ।

सनराइज एग्रीकल्चर रिसर्च सेन्टर टिकलीगढ, देउखुरीले विभिन्न छ वटा केन्द्रमार्फत गरिमा धानको बीउ बिक्री गरेको हो । कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले स्थलगत अध्ययन पछि बीउको ब्रान्डिङमाथि आशङ्का व्यक्त गर्नुभएको छ ।

उनले गरिमा जातको धान भनेर अरु कुनै जातको धान त्रुटिवश आयात भएको हुनसक्ने बताए । खेतका आलीमा हेर्दा कहीँकतै दुईचार बोट धान फलेको हुँदा बीउमा मिश्रण भएको अनुमान लगाउन सकिने आधार देखिएको उनको भनाइ छ ।

अहिले धान फल्ने अवस्था नरहे पछि के गर्ने भन्नेमा अन्योल देखिए पनि बीउ वितरक र पीडित किसानबीच सहमतिमै क्षतिपूर्ति भराउने विषयमा पनि आन्तरिक छलफल भइरहेको छ । गरिमा जातको धान देउखुरीमा मात्रै करीब ८० बिगाहा क्षेत्रफलमा रोपिएको अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यसको उत्पादन अब नहुने भएपछि कृषकले न्यायोचित पहल गरिदिन र राहतको व्यवस्थापन गरिदिन सरोकार निकायसँग माग गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया