पुग्ला केरुङबाट काठमाडौँ आउने रेल लुम्बिनीसम्म ?

७ बर्ष अगाडि

काठमाडौ । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले केरुङ काठमाडौँ रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि सम्झौता गरेका छन् । चिनियाँहरुले सो रेलमार्ग पोखरा र लुम्बिनीसम्म पुर्याउने गरी अध्ययन गरेका थिए ।

भलै त्यो अध्ययन प्रारम्भिक नै थियो । प्रारम्भिक अध्ययनमा चिनियाँ अधिकारीले काठमाडौँ, पोखरा र लुम्बिनीसम्मको रेलमार्ग सहज र लगानीयोग्य समेत रहेको बताएका थिए । तर पछिल्लो सम्झौतामा केरुङ काठमाडौँको विषय मात्रै समावेश गरिएको छ ।

के पोखरा र लुम्बिनीको विषय छोडिएको हो त? भन्ने प्रश्न पनि सँगै आएको छ । तर पहिलो चरणमा केरुङ काठमाडौँ मात्रै निर्माण गर्ने विषयले प्राथमिकता पाएको हो । डिपिआर निर्माणका लागि नै रु तीन अर्ब बढी खर्च हुने देखिएको छ ।

आगामी अगस्टमा प्रारम्भिक अध्ययनको काम सकिने र त्यस लगत्तै डिपिआरको काम सुरु गर्ने तयारी गरिएको छ । सो रेलमार्गका लागि मात्रै लागत रु चार खर्ब रहेको छ ।

नेपालीको इच्छामा सो रेलमार्ग निर्माण गर्न लागिएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौँसम्म रेल पु¥याउने आफ्नो भिजनका स्पष्ट पारेको प्रचारमा आएको छ । चिनियाँ रेल  हाल सिगात्से आइपुगेको छ । त्यहाँबाट केरुङ हुँदै काठमाडौँ र पोखरा तथा लुम्बिनीसम्म नै पुर्याइने विषयमा दुइृमत छैन , तर तत्कालका लागि भने काठमाडौँ जोड्ने विषय नै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ ।

‘तत्कालको हकमा काठमाडौँ न्यूनतम गन्तव्य हो । तर पोखरा र लुम्बिनी जोड्ने विषय पनि रोकिएको छैन’ उनले भने ।

यस्तो छ प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री ओलीले रेलमार्गका विषय र प्रक्रिया अगाडि बढेको दावी गरेका छन् । उनले भने – मानिसहरु अनौठो के मान्छन् भने दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर हामीले इनल्याण्ड वाटरवेज (आन्तरिक जलमार्ग) को कुरा गर्दा, नदीको बाटोबाट पानीजहाज चलाउँदा पनि अनौठो माने मान्छेले, तर हामी काम गर्दैछौँ र हामी छिटो नै शुरु गर्दैछौँ ।’

उनले थप अगाडि भने –‘हामीले बन्दरगाह चलाउँछौँ, पानीजहाज चलाउँछौँ भन्दा पनि अनौठो माने । हामीले वैकल्पिक मार्गहरु र पारवहनको बन्दोबस्त गर्छौँ भन्दा अनौठो माने । अरु कतिपय हामीले नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा अनौठो माने, तर यो अनौठो मान्नुपर्ने कुरा होइन ।’

उनले  कुनै देशबाट ल्याएर हाम्रो सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा नगरेको देशभित्र नै चल्ने रेलको कुरा गरेको उल्लेख गरेका छन् ।

पूर्व–पश्चिम रेलमार्ग राजधानीसम्म आउने रेलमार्ग ,काठमाडौँ–पोखरा चल्न

 रेलको कुरा, काठमाडौँ उपत्यकाभित्र चल्ने रेलको कुरा, अथवा थानकोट–धुलिखेल चल्ने रेल अथवा काठमाडौँ–वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी (सम्पर्क सञ्जाल) को रुपमा आफूले लिएको उनको भनाइ छ ।

सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।  रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरु अगाडि बढाउने अवधारणामा सरकार गएको र तोकिएको समय भन्दा पहिला नै काम गरिने उनको दावी छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया