काठमाडौँ । रेलमार्गको बारेमा कुरा गर्न भन्दै चीन पुगेका प्रधानमन्त्रीले उत्तर तिरबाट रेल ल्याउने कुरा गरिरहँदा भारतीय अधिकारी रेल चलाउने विषयमा छलफल गर्न काठमाडौँ आएका छन् ।
जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे छलफल गर्न भारतीय रेल विभागका अधिकारीहरु काठमाडौंमा आईपुगेको रेल विभागका अधिकारीले जानकारी दिएका छन् । उनीहरु बुधबार काठमाडौँ आइपुगेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरुसँग भारतीय रेल विभागका अधिकारीहरुले २ दिनसम्म रेल सञ्चालनको मोडलबारे छलफल गरेका हुन् ।
विभागले आगामी डिसेम्बरदेखि जनकपुर–जयनगरमा ३५ किलोमिटर लामो रेल गुडाउने तयारी गरिरहेको छ ।
आगामी डिसेम्बरमा रेल गुडाउने तयारीका साथ भारतीय अधिकारी काठमाडौँ आइपुगेका हुन् ।
भारतीय रेल विभागसँग वेट लिजमा सम्झौता गर्नेबारे छलफल भएको छ ।
रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने रेल गुडाउने बारेमा महत्वपूर्ण छलफल भइरहेको छ ।
वेट लिज सम्झौता अनुसार भारतीय रेल वेले रेलको डब्बा, चालक, कर्मचारी उपलब्ध गराउनेछ ।
नेपालले टिकेट, भाडा लगायतका पक्ष हेर्ने गरी तयारी गरिएको छ । उनीहरुले नेपालमा रेल चलाउँदा नेपाली प्राबिधिकहरुले सम्पुर्ण प्राबिधिक काम सिक्ने तयारी गरिरहेका छन् ।
नेपालले जनशक्ति तयार पारेपछि आफैं रेलको डब्बा किनेर सञ्चालन गर्नेछ । रेल गुडाउन नेपाल सक्षम भएपछि भारतीय रेल वेका अधिकारी फर्कने गरी तयारी गरिएको छ ।
विभागले जनकपुर जयकरका साथै बिराटगर बथनाहको १८ किलोमिटर रेल मार्गमा पनि त्यस्तै सम्झौता गर्न लागेको छ । ती रेल प्रति घण्टा एक सय किलोमिटर स्पीड क्षमताका छन् ।
विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । भारत सरकारले १० अर्ब लागतमा सो रेलवे लाइन निर्माण गरिदिएको हो ।
जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भएको छ । नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ ।
प्रतिक्रिया