ज्येष्ठ नागरिक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज विभिन्न वृद्धाश्रमलाई सहयोग गरेको छ ।
समाजले काठमाडौँ, विराटनगर र बुटवलका विभिन्न वृद्धाश्रमलाई नगद तथा दाङमा खाद्यान्न सहयोग गरेको हो । समाजका संस्थापक सभापति कृष्ण पहाडी, आजीवन सदस्य शोभा खनाल, स्रष्टा रामबाबु दाहाल र पुजन पौडेलले आफन्तको सम्झनामा काठमाडौँ र विराटनगरको आश्रमलाई रु ५० हजार सहयोग गर्नुभएको समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँको टौदहस्थित निजानन्द वृद्धाश्रम र विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई रु २५÷२५ हजार हस्तान्तरण गरिएको छ । यस्तै शान्ति समाज रुपन्देही शाखाले बुटवल उपमहानगरपालिका–२ स्थित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु वृद्धाश्रमलाई रु १३ हजार सहयोग गरेको छ । शान्ति समाज दाङ शाखाले पनि खाद्यान्न सहयोग गरेको छ । आज २९औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
प्रतिक्रिया