क्रान्तिलाई कम आँके लोकतन्त्र समाप्त हुने

६ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले २००७ सालको आन्दोलनलाई कम आँके लोकतन्त्र नै समाप्त हुने बताएका छन् । 

राजनीतिज्ञ सुन्दरराज चालिसेको शत्वार्षिकी जन्मजयन्ती विशेष समापन समारोह तथा सम्मान कार्यक्रममा शर्माले लोकतन्त्रको जग २००७ सालको क्रान्ति भएकाले त्यसको अवमूल्यन गर्न नहुने बताए । “पञ्चायती व्यवस्थाले जहानियाँ राणा शासनको अन्त्य गरेको दिनलाई निषेध गरेजस्तो अहिलेको शासन व्यवस्थामा हुनु हुँदैन”, उनले भने । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रजातन्त्र स्थापनाका लागि राणाशाहीलाई ग्रिनेड हान्न तयार हुने चालिसेको योगदान ओझेलमा पारिएको बताए। परिवर्तनका लागि निःस्वार्थ त्याग र तपस्या गर्ने व्यक्तिलाई बिर्संदै गएकामा उहाँले सरोकारवाला निकायको ध्यानाकर्षण गराए । पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालले २००७ सालको क्रान्तिको मुक्ति सेनाले राज्यबाट पैसा नलिए पनि २०५१ सालपछिको सशस्त्र जनयुद्धका जनमुक्ति सेनाले पैसा लिएको बताए। 

कार्यक्रममा ‘सुन्दरराज चालिसे–सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठान’का अध्यक्ष सुरेशराज चालिसेले प्रजातन्त्र स्थापना एवम पुनःस्थापनामा चालिसेले पु¥याउनुभएको योगदानको चर्चा गरेका छन् । सो अवसरमा २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिनुहुने प्रजातन्त्र सेनानी शङ्करबहादुर केसी, अमरसिंह श्रेष्ठ, शान्ता श्रेष्ठ, स्नेहलता श्रेष्ठ र केदारबहादुर नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा ‘सुन्दरराज चालिसे स्मृति ग्रन्थ’, ‘सुन्दरराज चालिसे अनुभूति र दृष्टि’ तथा ‘२००७ सालको क्रान्तिपछिका संस्मरण’ नामक कृति सार्वजनिक गरिएको थियो । 

विसं १९७५ मा काठमाडौँको इन्द्रचोकमा जन्मनुभएका राजनीतिज्ञ चालिसेको २०५४ सालमा निधन भएको थियो । कार्यक्रममा चालिसेको विषयमा निर्माण गरिएको वृत्तचित्र प्रदर्शन गरिनाका साथै उहाँले १९९५ सालमा खेल्नुभएको ‘मुकुन्द इन्दिरा’ नाटक पनि प्रदर्शन गरिएको थियो । सो नाटकको निर्देशन शत्वार्षिकी समारोह समितिको अध्यक्षसमेत रहनुभएका शताब्दी पुरुष जोशीले गर्नुभएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया