योजना छनोटपछि सम्झौता

६ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका वडा नं –१ कार्यालयले वडाभित्र योजना छनोट गरी सम्झौता गर्ने कार्य थालेको छ । आर्थिक वर्ष २०७६÷०७७ को लागि निर्माण समिति गठन गरी योजना छनोटपश्चात् सम्झौता कार्य अघि बढाइएको हो ।  

वडा कार्यालयबाट ३० वटा र नगरपालिकाबाट आठ गरी ३८ योजनाको लागि रु तीन करोड विनियोजन गरिएको वडाध्यक्ष खरसिं दरैले बताउनुभयो । वडाबाट छनोट भएका योजनामा पक्की नाला, सडक कालोपत्रे, खानेपानी र बाटोलगायतका विकास निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । 

वडाबाट छनोट भएका ससाना योजनाको लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “नगरपालिकाबाट थप भएको रु दुई करोड ठूला योजनाका लागि छुट्टाइएको छ ।” उहाँका अनुसार ठूला योजनाअन्तर्गत आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि रु ५० लाख, वडा कार्यालय भवन निर्माणको लागि रु ५० लाख, छाब्दी मार्ग बसपार्क निर्माणको लागि रु ५० लाख विनियोजन गरिएको छ । 

त्यसैगरी, माइली डाँडा खानेपानी निर्माणमा रु १५ लाख, छाब्दी दोभान विक्रम दाहस्थल निर्माणमा रु १४ लाख, सामुदायिक प्रहरी कार्यालय भवनको तला थपको लागि रु दश लाख, दरै समाज भवन निर्माणको लागि रु दश लाख विनियोजन गरिएको छ । विक्रम परियारको शालिक निर्माणको लागि रु पाँच लाख, तरकारी खरीद बिक्रीको लागि हाटबजार निर्माणको लागि रु दुई लाख विनियोजन गरेको छ । ठूला योजनामध्ये वडा कार्यालय भवन निर्माण र छाब्दीमार्ग बसपार्क निर्माणको लागि बोलपत्रमार्फत गरिने र अन्य योजनाको वडाबाटै सम्झौता गरी निर्माण कार्य अघि बढाइने वडासचिव सावित्री आचार्यले जानकारी दिनुभयो । 

वडा भवनलाई जग्गा

वडा भवन बनाउने स्थलको विषयमा विवाद हुँदै आएका कारण वडा भवन बन्न सकेको थिएन । हाल वडा कार्यालय सञ्चालन गर्दै आएको स्थल नजिकै व्यास नगरपालिका–१ स्थित चारकुने निवासी छविजङ्ग ठकुरीले एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । करीब रु ६४ लाख मूल्य बराबरको उक्त जग्गा ठकुरीले निःशुल्क दान गर्नुभएको हो । निःशुल्करुपमा जग्गा उपलब्ध भएपछि भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ । 

अठार टोलमा सडक बत्ती जडान

वडा कार्यालयले आफ्नो वडाभित्र रहेका २४ वटा टोल विकास संस्थामध्ये दशैँ अगाडि १८ वटा टोलमा सडक बत्ती जडान गर्ने गरी काम थालेको छ । बाँकी रहेका छ वटा टोलमा दशैँपछि सडक बत्ती जडान गर्ने लक्ष्य राखिएको वडाध्यक्ष दरैले जानकारी दिनुभयो । चाडपर्वलाई लक्षित गरी सडक बत्ती जडान र मर्मत कार्यलाई प्राथमिकतामा राखेर काम गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया