बैंक तथा सहकारीहरु मर्जमा जान थालेपनि सरकारले धितोपत्र व्यवसायीलाई पनि मर्जमा लैजाने तयारी गरेको छ ।
धितोपत्र व्यवसायीलाई गाभ्ने वा मर्जमा लैजाने तयारी शुरु भएकोे नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष रेवतबहादुर कार्कीले बताए ।
हाल नेपालमा दर्ता भएका ५० वटा धितोपत्र व्यवसायीले देशका विभिन्न ९४ स्थानमा सेयर कारोबार गराउँदै आएका छन् ।
बजार सुधार तथा विकासका लागि अनिवार्य डिम्याट र आस्बा प्रणाली लागू गरी लामो समय लाइन बस्नुपर्ने बाध्यता अन्त्य गरेको, न्यूनतम १० कित्ता सेयरमा आवेदन दिने व्यवस्था लागू, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउनेलगायतका व्यवस्था गरेको बोर्डले अबको चरणमा धितोपत्र व्यावसायीलाई गाभ्ने वा प्राप्तिमा लैजाने कार्कीको भनाइ छ ।
बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहनस्वरूप न्यूनतम १० प्रतिशतसम्म सार्वजनिक निष्कासन गर्न पाउने, प्रिमियममा निष्कासन गर्न पाउनुका साथै १५ देखि २५ प्रतिशतसम्म आयकर छुटको व्यवस्था गरेको हो ।
बोर्डले यसै वर्ष ओईसीडी आईएनएफई को सदस्यता प्राप्त गरेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको अध्यक्ष कार्कीले बताए । ओटीसी बजारमा कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौटी गरी ओटीसी बजारले समेत बजारलाई सक्रिय बनाएको दाबी कार्कीले गरेका छन् ।
कार्कीले आफू कार्यकारी अध्यक्षमा नियुक्त भई आए यता पुँजी बजार विकासमा उल्लेख्य सुधार भएको दाबी गरे ।
प्रतिक्रिया