धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बस आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार पाँच जना घाइते भएका छन्। बसका चालक र सहचालक दुर्घटना पछि फरार भएका छन् ।
सेमजोङबाट सदरमुकाम धादिङबेंसी आउँदै गरेको धादिङ यातायातको बा ४ ख ५७९३ नम्बरको आइतबार बिहान ८स्३० बजेतिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ केराम्जामा पल्टिएर दुर्घटना भएको हो।
बस अत्यधिक गतिमा रहेको अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको घाइतेहरूले बताएका छन्।
दुर्घटनामा परी धादिङको नेत्रावती डबजोङ ५ का ५८ वर्षीय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ वर्षीया हस्त कुमारी तामाङ गम्भीर घाइते भएका छन्।
यसैगरी सोही स्थानकी २० वर्षीया लक्ष्मी गुरुङ, ४५ वर्षका चेन्डे दमाई ६० वर्षकी शान्तमाया गुरुङ घाइते भएका छन्।
घाइतेहरू सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।
चालक र सहचालक फरार भएपछि उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सात जना यात्रु लिएर आइरहेको बस अत्यधिक गतिमा हुइँकिएपछि दुई जना यात्रु भने दुर्घटनास्थल भन्दा केही तल झरेर अर्को जीपमा चढी आउँदै गर्दा बस पल्टिएको देख्दा आफूहरू बेलैमा उत्रने सकेको उनीहरूले बताए।
प्रतिक्रिया