काठमाण्डौँ –नेकपा बरिष्ठ नेता एबं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताएका छन् ।
नेता नेतालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गरे । ०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पु¥याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे ।
‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा गरेको ‘भरतमोहन अधिकारी व्यक्ति एक व्यक्तित्व अनेक’ कार्यक्रममा नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो ।’ ०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे ।
०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै उनले त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको बताए । ‘काँग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं । दरबारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजधाले सबै हामीले लेखेर दिएको पढे । बास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको गज थियो ।’
कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नि सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । वक्ताहरुले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताए ।
प्रतिक्रिया