व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उहाँका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उनले बताए । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगँैचामा फलेको छ ।
“स्याउ पाक्ने बेला हुँदैछ, चिसो ठाउँमा फल्ने स्याउ अलि ढिला पाक्छ तर खानमा मीठो हुन्छ, स्याउ टिप्न पाइएको छैन, स्याउका लागि भारतीय सुरक्षाकर्मीले आएर दररेट कायम गरिसके”, उनले भने, “यही महीनाभित्र स्याउ पाकिसक्छ, स्याउँ पाक्नुअगावै भारतीय सुरक्षाकर्मी आएर स्याउ खरीद सम्झौता भइसक्यो ।”
सबै बोटमा स्याउ नझरेको भए यो वर्ष ६०÷७० क्विन्टल स्याउ उत्पादन हुने थियो । असिनाले आधा बढी स्याउ नोक्सानी गरेको उहाँले बताए । उनका अनुसार रुखमै प्रतिकिलो ७० भारतीय रुपयाँका दरले भारतीय सुरक्षाकर्मीले स्याउ किन्ने कुराकानी भइसकेको छ । हरेक वर्ष आइटिबी, एसएसबीले त्रिदेशीय सीमा व्यासको स्याउ लिने गरेका छन् ।
“हरेक वर्ष हाम्रा स्याउका ग्राहक भनेकै भारतीय सुरक्षाकर्मी हुन्”, बोहराले भन्नुभयो । उहाँको यो वर्ष लगाएका ९५० बोटमा अझै स्याउ फल्न बाँकी छ । अर्को वर्षदेखि डेढ हजार बोटमा स्याउ उत्पादन हुने उहाँले जानकारी दिनुभयो । सबै बोटमा स्याउ फले भने बजार अझै खोज्नुपर्ने उनको भनाइ छ । अहिलेसम्म हरेक वर्ष भारतीय सुरक्षाकर्मीले स्याउ खरीद गर्ने गरेका कारण समस्या नभएको उनले बताए ।
गत वर्ष उनीहरुको मागभन्दा बढी स्याउ फलेपछि आधा फाल्नुपरेको उहाँले सुनाउनुभयो । सदरमुकाम खलङ्गादेखि व्यासको छांगरु गागा पुग्न नेपालतिर बाटो छैन । वर्षांैदेखि तिङ्कर सडक निर्माणले गति लिन नसक्दा व्यासको स्याउ बजारसम्म ल्याउने यहाँका किसानको सपना पूरा हुन सकेको छैन ।
“आफ्नै देशको सडक भइदिए व्यासको स्याउ खलङ्गा पुग्थ्यो”, किसान सुधा बोहराले भन, “सडक नबन्दा र व्यासमा फल्ने स्याउ नेपाली बजारमा पु¥याउने सपना अधुरै छ, हिमालको फेदीमा फलाएको प्राङ्गारिक स्याउ आफ्नै देशमा बिक्री गर्ने सपना थियो ।” सडक या घोरेटो बाटो भए पनि यहाँका प्राङ्गारिक फलफूल सिधै खलङ्गासम्म आउने उनको भनाइ छ ।
नेपालतिर भएर सडक नहुँदा पर्यटकसमेत छांगरु तिङ्कर पुग्न सकेका छैनन् । भारतीय सुरक्षाकर्मीले धारचुला पिथौरागढबाट यस क्षेत्रसम्म ढुवानीमा महङ्गो भएका कारण व्यासको बारीको स्याउ खरीद गर्ने गरेका हुन् । एक वर्षभित्र भारतले आफ्नो भूमिमा सडक निर्माण गरिसक्ने भएपछि उनीहरुले आफ्नै देशको स्याउ खाने चिन्ता यहाँका किसानको छ ।
“हामीले यत्रो लगानीमा स्याउखेती गरेका छाँै, सडक बाटो नभए लगानी कसरी निकाल्ने भन्ने चिन्ता बढ्न थालेको छ”, सुधाले भन्नुभयो, “अझै यो वर्ष स्याउको नर्सरी बनाउने सोच बनाएका छौँ ।” यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोन कार्यक्रममा स्याउलाई लामो समयसम्म राख्न शितभण्डार माग गरिएको उहाँले बताउनुभयोनले बताए ।
जिल्लाका व्यासलगायत पाँच स्थानीय तहमा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनअन्तर्गत स्याउखेती विस्तार गरिएको छ । एक वर्षको अवधिमा केही क्षेत्रमा स्याउ उत्पादन हुन थालेको छ । गत वर्ष मात्रै हजारौँ बिरुवा स्याउ व्यासमै वितरण गरिएको स्याउ जोनका निमित्त जिल्ला प्रमुख विष्णुप्रसाद ओझाले बताए । “हामीले पनि व्यासमा फल्ने स्याउ हेरेका छौँ”, ओझाले भने, “बजारसम्म पु¥याउनसके व्यासको स्याउँले मूल्य पाउँछ ।” योपटक स्याउलाई लामो समयसम्म जोगाउनका लागि शितभण्डार निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।
प्रतिक्रिया