काठमाडौं । पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सत्यमान लामाको आज बौद्ध धार्मीक परम्परा अनुसार स्वयम्भुमा अन्त्येष्टि गरिएको छ ।
डाइबिटीज र फोक्सोमा इन्फेक्सन देखिएपछि केहीदिन अघि राजधानीको हेल्पीङ हेण्ड्स अस्पतालमा उपचारार्थ भर्ना भएका नेता लामाको हिजो विहान १०ः२५ बजे निधन भएको थियो ।
पञ्चायतका हस्ती मानिएका लामाको पार्थिव शरिरलाई हिजो बौद्धस्थित तामाङ गुम्बामा राखिएको थियो । उक्त गुम्वाबाट उनको पार्थिव शरिरलाई लामा गुरुहरु, पार्टीका नेता, कार्यकर्ताहरु सम्मिलित शवयात्रासहित दिउँसो १ बजे स्वयम्भु पु¥याइएको थियो ।
शवयात्रा सुरु हुनु पूर्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्व. नेता लामाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।
स्व. लामाप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीका वरिष्ठ नेता वालाराम घर्तिमगर, राजनीतिक सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, पार्टी उपाध्यक्ष तोरण बहादुर गुरुङ, महामन्त्री भाष्कर भद्रा लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका पदाधिकारीहरु बौद्धस्थित तामाङ गुम्वामा पुगेका थिए ।
७४ वर्षको उमेरमा निधन भएका राष्ट्रवादी नेता लामाका श्रीमती, २ छोरा र तीन छोरी छन् ।
प्रतिक्रिया