शेयर बजार ओरालो लागिरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाले फेरी शेयरबजारमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन् ।
रुपन्देहिको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानीसम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्ने यो उपयुक्त समय भएको कुरा दोहो¥याएका हुन् ।
विगतमा अनुत्पादक क्षेत्रको संज्ञा दिएरका अर्थमन्त्री खतिवडाकै कारण सेयर बजार घटेको आलोचनापछि उनले पटकपटक सेयर बजारमा लगानी गर्न अहिले उपयुक्त समय भएको बताउन थालेका हुन् ।
यसअघि ३१ असोजमा कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोष, सामुहिक लगानी योजना लगायतका संस्थाहरुका लागि सेयरबजारमा लगानी गर्न अहिले अवसर भएको भन्दै दोस्रो बजारमा लगानी बढाउन भनेका थिए ।
अर्थमन्त्री खतिवडाको भनाईसंगै दुइदिन केही सुधार भएको शेयर बजार फेरी ओरालो लागेको थियो ।
बिहीबार बुटवलमा भएको कार्यक्रममा मन्त्री डा. खतिवडाले सेयर बजारमा लगानीकर्ताको आकर्षण कायमै रहेको समेत दावी गरे ।
‘बजारमा धेरै साधारण सेयर आईपीओहरु आएका छन्, ति कुनै पनि नबिकेको भन्ने छैन सबै ओभर सब्स्क्राबर भइरहेका छन्,’ उनले भने ‘यसर्थ बजारमा लगानी गर्ने राम्रो अवसर अहिले हो ।’
कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारमा लगानीको बाताबरण बन्नका लागि आवश्यक ऐन कानूनहरु बनेको बताए ।
‘लगानीको लागि कुनै पनि कानूनी जटिलता छैन ’, उनले भने ।
मन्त्री खतिवडाले नेपालमा लगानीको लागि एकद्वार प्रणाली लागु भएको भन्दै विश्वमा भएका लगानीकर्तालाई लगानीको लागि आह्वान गरेको पनि उल्लेख गरे । अहिले सरकार साझा अर्थतन्त्र निर्माणमा लागेकोले यसको लागि स्थानीय तह, प्रदेश र संघको समान भूमिका आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया