परमाणु हतियार त्याग्ने किमको बाचा

८ बर्ष अगाडि

काठमाडौं–जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । 

तर मङ्गलबार बिहान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो । ट्रम्पसँगको वार्तामा किमले आणविक निशस्त्रीकरणमा सहमति जनाएसँगै विश्वभरबाट विभिन्न प्रतिक्रिया आएका छन् । 
जापानले परमाणु हतियार त्याग्ने प्रतिबद्धता राम्रो भएको प्रतिक्रिया दिएको छ । चीनले चाहिँ निशस्त्रीकरणको आधारभूत सहमति बन्नेमा आशा व्यक्त गरेको छ । यसैगरी दक्षिण कोरियाले दुई कोरिया र अमेरिकाले नयाँ इतिहास रच्ने बताएको छ । यता रुसले भने सम्झौता सकारात्मक भएपनि रहस्यमयी भएको टिप्पणी गरेको छ । 
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्ताको स्वागत गरेका छन् ।  उनले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन् । 
नेपाल सरकारले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ । 

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ । 

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो । 

८ बर्ष अगाडि

प्रतिक्रिया