डीडीसी लैनचौरका तत्कालीन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

६ बर्ष अगाडि

दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध वितरणको लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रा.लिसँग मिलेमतोमा ठेक्का सम्झौता नै नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन महाप्रबन्धक तिमिसिनाविरुद्ध ४६ लाख ७९ हजार १ सय ८२ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।

यस्तै, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा।ईश्वरी प्रसाद अधिकारी, तत्कालीन बालाजुका दुग्ध वितरण आयोजना प्रमुख राज गोबिन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक, माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत, राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत दिपक सुवेदीलाई पनि सोहि बराबरको बिगो माग दाबीसहित मुद्दा दायर गरेको छ ।

सुवेदी हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुखका रुपमा कार्यरत छन् । साथै, अख्तियारले गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाललाई २२ लाख १९ हजार तथा प्र्रभु आदित्य बिजनेश एण्ड कन्ट्रक्सन प्रा।लिका संचालक दिप बहादुर खड्का, फणिन्द्र प्रसाद दाहाल र तत्कालीन संचालक सतिस कुमार गिरीलाई २४ लाख ५९ हजार बिगो माग दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । उनीहरु १० जनालाई नै अख्तियारले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया