बैंकलाई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जना पक्राउ

६ बर्ष अगाडि

जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । सोही कार्यमा संलग्न अन्य ५ जना हाल फरार रहेका छन् । 

पक्राउ पर्नेहरुमा स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवं संचालक काठमाडौं बानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भएका ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ, काठमाडौं शंखरापुर नगरपालिका–९ लाकिल्ला भुमेथली बस्ने काठमाडौं महानगरपालिका–३ महाराजगंज घर भएका ३८ वर्षीय भुपेन्द्र श्रेष्ठ, झापा चन्द्रगढी–६ ठेगाना भएका गणेश लम्साल, काठमाडौं  बानेश्वर बस्ने भैरहवा खजनाटोल–३ घर भएका किरण कुमार बोहरा, चितवन भण्डारा–१ बस्ने ऋशेश्वर थपलिया, मकवानपुर मनहरा गाउँपालिका–८ बस्ने खैरोङ–३ घर भएका कृष्ण बहादुर कार्की, काठमाडौं महानगरपालिका–४ बस्ने पर्सा वीरगंजका सुषमा शाह, काठमाडौं मैजुबाहाल–७ बस्ने बिभु विक्रम पन्त, बाँके नेपालगंज उपमहानगरपालिका–१ धम्बोजी बस्ने ऋचा श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ सिफल बस्ने पुष्पराज भण्डारी र काठमाडौं कोटेश्वर बस्ने अजय श्रेष्ठ रहेका छन् । 

स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संचालक सुरेन्द्रले कम्पनीको नाममा झापाको कित्ता नम्बर ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गाको झुठ्ठा विवरण उक्त बैंकमा पेश गरी एक ठाउँको जग्गा देखाई अन्य ठाउँको जग्गा धितोमा राखी बैंकलाई उक्त रकम बराबरको हानी नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुल्न आएको छ ।   

उनीहरु बिरुद्ध  बैंकिङ कसुर ऐन, २०६४ बमोजिम हदैसम्मको सजाय मागदावी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रहरी प्रतिवेदन पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया