भन्सार विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई तिर्नुपर्ने ५४ करोड नतिरेको खुलेको छ ।
समयमा रकम नतिरेपछि क्यानले सूचना नै प्रकाशित गरेर ३० दिनभित्र उक्त रकम तिर्न ताकेता गरेको छ ।
भन्सार सहित वायुसेवा कम्पनी, सरकारी कार्यालय, फर्म तथा व्यक्तिले गरी १ सय ९५ ले दुई अर्ब बक्यौता नतिरेको प्राधिकरणले जनाएको छ ।
रकम नतिर्नेहरुमा सरकारी निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं विभिन्न व्यक्तिहरु समेत छन् ।
लामो समयदेखिको बक्यौता र विलम्ब शुल्क तोकिएको मितिभित्र तिर्न आग्रह गर्दै प्राधिकरणले समयमा नतिर्नेलाई विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ।
असोज २ गते प्राधिकरणको बजेट सार्वजनिक कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बक्यौता बुझाउन अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर ताकेता गरिने बताएका थिए।
प्राधिकरणका अनुसार एयर एशियाको २२ करोड, युनिभर्सल सप्लाई एजेन्सीको आठ करोड ७२ लाख, रसुवा केडीजेभीको पाँच करोड ६२ लाख, नेकोन एयरको चार करोड ७२ लाख, ग्रिनलाइन इन्टरनेशनलको एक करोड ७८ लाख, किङ फिसर एयरलाईन्सको एक करोड १५ लाख रुपैयाँ लगायत रहेको छ।
प्रतिक्रिया