अर्बौ लागतको रेलमार्गः कसरी बनाउँछ नेकपाको सरकारले

८ बर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो पटक रेलमार्ग निर्माणको विषयले प्रमुख प्राथमिकता पाएको छ । काठमाडौँ– रक्सोल पछिल्लो समयमा चर्चामा आएको रेलमार्ग हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, त्यस भन्दा पहिले भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको प्रमुख एजेण्डाका रुपमा रेलमार्गले प्रवेश पाएको हो ।

हाल नेपाली र भारतीय प्राविधिकले रेलमार्गको सामान्य अध्ययन सुरु गरेका छन् । आगामी ४ महिना भित्र सो रेलमार्गको प्रारम्भिक प्रतिवेदन प्राप्त हुनेछ । यस्ते आगामी २ वर्ष भित्र सो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार हुने छ ।

सो रेलमार्गलाई भारत सरकारले सहयोग गर्ने र नेपालमा रेल सञ्जाल निर्माणमा सहयोग उपलब्ध गराउने चर्चा सुरु भएको छ । तर कति समयमा रेलमार्ग निर्माण होला, जग्गा प्राप्ति र मुआब्जा वितरण के कति रुपमा अगाडि बढ्ला , त्यसको आधार के होला? सरकारको तयारी के छ भन्ने बारेमा अहिले नै केही भन्न सकिने अवस्था छैन । किनकी हाल प्रारम्भिक चरणका काम मात्रै भइरहेका छन् ।

यस्तै केरुङ– काठमाडौँ रेलमार्गका विषयमा हल्ला सँगै केही काम पनि सुरु भएका छन् । चिनियाँ प्राविधिकले सो रेलमार्गको विषयमा प्रारम्भिक अध्ययन गरिरहेका छन् । आगामी अगस्टसम्म अध्ययन कार्य सम्पन्न गर्ने तयारी छ ।

तर नेपालको तराई क्षेत्रमा एक किलोमिटर रेलमार्ग निर्माण गर्न  रु ५० करोड र पहाडी क्षेत्रमा एक किलोमिटर रेलमार्ग निर्माण गर्न रु ४  अर्ब हाराहारी खर्च हुने देखिएको छ । यस्तै केरुङ–काठमाडौँ रेलमार्गका लागि भने त्योभन्दा बढी खर्च हुने देखिएको छ ।

पाँच स्थानमा क्रस बोर्डर कनेक्टिभिटी

रेल विभागकाअनुसार पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरूले बताएका छन् ।

रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले भारत सरकारको सहयोगमा क्रस बोर्डर कनेक्टिभिटीअन्तर्गत जलपायुगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगवनी–विराटनगर १८ किलोमिटर, जयनगर–बर्दिबास ७० किलोमिटर, नौतुनवा–भैरहवा १७ किलोमिटर र रुपडिया–नेपालगञ्ज १२ किलोमिटर रेल निर्माणका लागि भारतसँग सम्झौता भई कार्य अगाडि बढेको बताए ।

 

भारतसँगको सहमतिअनुसार जोगवनी–विराटनगर १८ किलोमिटर रेलमार्गमध्ये ८० प्रतिशत रेलमार्ग निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।  जयनगर–कुर्तासम्मको ३५ किलोमिटरको कार्य आगामी अक्टोबरमा सम्पन्न हुनेछ ।

त्यसैगरी नौतुनवा–भैरहवा र रुपडिया–नेपालगञ्ज रेलमार्गको सर्भे भइरहेको छ । चाँडै नै निर्माण कार्य शुरु हुने उहाँले बताउनुभयो । जलपायुगुडी–काँकडभिट्टा रेलमार्ग अधिकांश भारतीय क्षेत्रमा पर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेचीमहाकाली विद्युतीय रेलमार्गको काम पनि तीव्र गतिमा अगाडि बढाइएको छ । यो मार्गको डिपिआर र डिजाइन तयार पार्ने कार्य र निर्माण गर्ने कार्य सँगसँगै अगाडि बढेको छ ।

 निजगढदेखि हेटौँडा–भरतपुर हुँदै नवलपरासीसम्मको डिपिआर र डिजाइन परिवर्तन गर्नुपरेको छ । निकुञ्जको आग्रहमा मार्ग परिवर्तन गरिएको हो । यसको सम्भाव्यता अध्ययन भइसकेको र निकट भविष्यमै डिपिआर तयार हुने छ ।  मेची महाकाली रेलमार्गको लम्बाइ करीब ९४५ किलोमिटर हुने छ ।

आठ स्थानमा सुरुङ

 जसमा आठ ठाउँमा सुरुङ मार्ग निर्माण गरिने छ । शिवपुर–भालुवाङ १४ किलोमिटर लामो सुरुङ मार्ग हुनेछ भने अन्य सुरुङ मार्ग छोटा दूरीका हुनेछन् । सुरुङ मार्गको संख्या घटाउन गृहकार्य भइरहेको छ ।  २०० किलोमिटर प्रतिघण्टा रेल गुड्न सक्ने गरी यो मार्ग निर्माण गरिनेछ ।

यो मार्ग अग्लो गरी बनाउन लागिएको छ । रेलमार्ग मुनिबाट सडक सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको छ । करीब छ मिटर अग्लो हुने गरी रेलमार्ग निर्माण गरिँदैछ । रेलमार्गका लागि ५० मिटर चौडा जग्गा अधिग्रहण गरिने भए पनि अहिले एउटामात्रै मार्ग बनाइँदैछ । पछि अर्काे मार्ग थप्न मिल्ने गरी डिजाइन गरिएको छ ।

केरुङ–काठमाडौँ रेलमार्गको प्रक्रिया पनि अगाडि बढेको छ । करीब १०० किलोमिटर लामो उक्त मार्गको ९० प्रतिशत क्षेत्र पुल र सुरुङ हुने भएकाले निकै खर्चिलो रहेको छ ।
 

८ बर्ष अगाडि

प्रतिक्रिया