बंगलादेशमा नेपालीले चलाएको क्यासिनो बन्द, नेपालीको एक अर्ब डुब्दै

६ बर्ष अगाडि

काठमाडौँ । नेपालका केही गिरोहले बंगालादेशको राजधानी ढाकामा अवैध रुपमा सञ्चालन गर्दै आएको आधा दर्जन क्यासिनो बन्द भएको छ । 

बिगत ५ बर्षदेखि गेमिङ जोनको नाममा चलाउँदै आएको क्यासिनो त्यहाँको सरकारले गत साताबाट बन्द गरायो । 

नेपालका केही क्यासिनोका बादशाहले राजनीतिको आवरणमा गुण्डागर्दी गर्दै आएका तथा स्थानीय नेताका रुपमा चिनिने सम्राट भन्ने स्माईल चौधरीको संरक्षणमा ढाकामा जुवा अड्डा (मिनि क्यासिनो) सञ्चालन गर्दै आएका थिए । 

त्यहाँको सरकारले क्यासिनो बन्द गराए पनि नेपाली क्यासिनो चलाउने र काम गर्नेलाई भने नेपाल फिर्ता जान दिएको छ । ढाकामा क्यासिनो चलाउन सहयोग पु¥याउने सम्राटलाई भने ढाका प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाली गिरोहबाट सम्राटले मोटो रकम बुझ्दै आएका थिए । स्रोतका अनुसार ढाकामा सञ्चालित क्यासिनोबाट सम्राटले दैनिक दुई लाख देखि पाँच लाखसम्म असुल्दै आएका थिए । जुन नेपाली रुपैंया पचास लाख रुपैंया हुन आउँछ । बिपक्षी दलको चर्को बिरोधपछि ढाका सरकारले अवैध क्यासिनो बन्द गराउँदै छानबिनका लागि सम्राटलाई नियन्त्रणमा लिएको हो । 

क्यासिनो बन्दसँगै नेपालीको करोडौं रुपैंया ढाकामा डुबेको छ । स्रोतका अनुसार बंगालादेशको ढाका लगायत बिभिन्न सहरमा नेपालीको १७ वटा क्यासिनो छन् । प्रत्येक क्यासिनोमा तीन करोडदेखि पाँच करोड लगानी छ । सबै क्यासिनो बन्द हुँदा लगभग नेपाली रुपैंया एक अर्ब डुब्ने निश्चित भएको छ । 

स्रोतका अनुसार आशिश श्रेष्ठ, सुशील पाण्डेले ‘भिक्टोरिया क्यासिनो’ चलाएका थिए । यस्तै, बिजय उप्रेती, राजकुमार भट्टराई र दिनेश शर्माले ‘दिलखुश क्यासिनो’ चलाएका छन् । 

नागेन्द्र रिजालले ढाकामै ‘मामोडियन’, विनोद मैनालीले ‘उत्तराक्लव’ भन्ने क्यासिनो चलाउँदै आएका छन् । यी सबै क्यासिनो बन्द भएमा नेपालीको एक अर्ब रुपैंया डुब्ने पक्का छ । क्यासिनोमा प्रहरीले छापा मारेपछि नेपालीहरुको भागाभाग भएको थियो । केही नेपाल आउने क्रममा छन् भने केही ढाकामै लुकेर बसेका छन् । 

केही मोटरबाटो भारतको बागडोरा हुँदै नेपालको काँकडभित्ताबाट नेपाल छिरिसकेका छन् । स्रोतका अनुसार ढाका प्रहरीको भने नेपालीलाई पक्राउ गर्ने कुनै योजना छैन । दुई नेताको टसलको कारण क्यासिनोमा छापा हानेर बन्द गरिएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया