नयाँ नोट साट्न यसपटक राष्ट्र बैंकमै जानुपर्ने बाध्यता यो वर्षदेखि हटेको छ। नेपाल राष्ट्र बैंकले ठूलो चाड दशैँका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाटै नयाँ नोट साट्ने व्यवस्था गरेपछि नोट साट्न राष्ट्रबैंक धाउनुपर्ने बाध्यता हटेको हो ।
राष्ट्रबैंकले कृषि विकास बैंककाे गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट सिंहदरबार प्लाजा, सिंहदरबारपरिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट साट्न पाउने छन् भने नेपाल बैंकबाट न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट लिन सक्नेछन्।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार बाट पनि नयाँ नाेट साट्न पाइने छ ।
उपत्यकाबाहिरका सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट पाउनेछन्।
यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक लिमिटेडका राष्ट्र बैंकको नोटकोष रहेका सबै शाखा कार्यालयहरुबााट समेत सुकिलो तथा सीमित मात्रामा नयाँ नोटहरु सटही गर्ने व्यवस्था मिलाएको केन्द्रीय बैंकले जनाएको छ।
नयाँ नोट आगामी १० गतेदेखि १७ गतेसम्म वितरण गरिनेछ। सर्वसाधारणले पाँच रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका नयाँ नोट एकरएक प्याकेट गरे प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ। बडा दशैँमा साना दरका नयाँ तथा सुकिलो नोटको माग उच्च भएकाले यस्तो व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
‘अबिर नलगाउनुहोस्’
यसैबीच, राष्ट्र बैंकले नयाँ नोटमा अबिर छर्किने, नखुम्च्याउने, नलेख्ने, केरमेट नगर्ने, नोटको आकार नबिगार्नेजस्ता कुराहरुमा सर्वसाधारणलाई सचेत गराएको छ। नोटको दुरुपयोग गरे कानुनबमोजिम कारबाही हुनेसम्मको व्यहोरा समेत राष्ट्र बैंकले अवगत गराएको छ।
प्रतिक्रिया