यसरी हटाउनुस् कपडामा लागेको चिल्लो र रङको दाग

६ बर्ष अगाडि

महँगा कपडामा दाग लागेर नराम्रो हुँदा जोकसैको मन कुँडिन्छ । खनखनी पैसा तिरेर किन्दाको स्मरण हुन्छ । यस्तो अवस्थामा कतिपयले घरायसी उपाय अपनाएर दाग मेट्ने प्रयास गरेको पाइन्छ । तर, कतिपय तरिका गलत हुन सक्छन् र झनै कपडा बिग्रिने खतरा रहन्छ । कपडामा चिल्लो तथा रङको दाग लाग्यो भने के गर्ने, के नगर्ने रु ब्यान्डबक्स ड्राई क्लिनर्सका प्रबन्ध निर्देशक पार्थवीर जेबी राणाले टिप्स दिएका छन्ः

–कपडामा चिल्लोको दाग लाग्यो भने पानीले धुने, पखाल्ने, कागती दल्नेजस्ता काम नगर्नुहोस् । घरमा धोएर चिल्लोको दाग राम्रोसँग जाँदैन । जबर्जस्ती घोटेर फाल्न खोज्दा कपडा नै खुइलिने, ड्यामेज हुने खतरा रहन्छ । दसै“मा धेरैले कलरफुल कपडा लगाउने भएकाले यस्ता कपडा धेरै घोट्नु झनै घातक हुन्छ । कलरफुल कपडा जहिले पनि संवेदनशील मानिन्छ ।

–चिल्लो लागेपछि कपडामा तत्काल अनुहार तथा शरीरमा दल्ने कुनै पाउडर दलिदिन सक्नुहुन्छ । दाग लागेको ठाउँमा जतिसक्दो छिटो पाउडर दल्दा चिल्लो कपडाको भित्रसम्म पस्न पाउँदैन । पाउडर लगाएपछिको अप्सन भनेको ड्राइकिङ नै हो । ड्राइक्लिनर्समा लगेर कपडालाई विनाअसर दाग हटाउन सकिन्छ ।

–टीकाको रङ लागेको छ भने जतिसक्दो चा“डो साबुनपानीले पुछिदिन सक्नुहुन्छ । सामान्य रङ साबुनपानीले नै हट्छ । तर, साबुनपानीले हटेन भने जबर्जस्ती फाल्ने प्रयास नगर्नुहोस् । ड्राइक्लिनमै लैजानुको विकल्प हुँदैन ।

–कपडामा लागेको दाग र रङ जति ढिला ड्राइकिङ गर्न लगिन्छ उति नै परिस्थिति जटिल बन्न सक्छ । लामो समयसम्म कपडामा रहेको दाग ड्राइक्लिनबाट पनि हट्ने सम्भावना कम हुँदै जान्छ । दाग नै नजाने खतरा पनि रहन्छ । चाँडोभन्दा चाँडो ड्राइकिङ गरेपछि दाग पनि हट्छ र कपडा पनि सुरक्षित रहन्छ ।

–दाग र रङ नहटाई कपडा राख्दा फोहोरले ड्यामेज गरिदिन सक्छ । रङमा केमिकल हुने भएकाले कपडा डिस्कलर गराउनेदेखि कमजोर बनाउनेसम्म गर्न सक्छ ।

–सम्भव भएमा घरमै कपडा धोएर राख्न पनि सकिन्छ । तर, कुन क्वालिटीको कपडा कसरी धुने भन्ने ज्ञान आवश्यक पर्छ । सामान्य कपडामा कुनै फरक पर्दैन, तर स्तरीय कपडा धुने सम्बन्धमा सबैमा धुने ज्ञान हुँदैन । कपडा जति महँगा हुन्छ, हरेक पाटोमा उति नै संवेदनशील हुन्छ ।

–कपडा धोएपछि चर्को घाममा सुकाउनु गल्ती हुन्छ । चर्को घामले कपडाको रङ खुइल्याइदिने गर्छ । सेतो कपडा भने घाममा सुकाउँदा पनि फरक पर्दैन । कलरफुल कपडा झुक्किएर पनि कडा घाममा नसुकाउनुहोस् ।

–कपडा क्लिन गरिसकेपछि कहिल्यै पनि पट्याएर राख्ने गर्नु हुँदैन । पट्याएर राख्दा कपडा बिग्रिने तथा डिस्कलर हुन सक्छ । सफा कपडा जहिल्यै दराजमा झुन्ड्याएर राख्नुपर्छ ।

–कपडा केही खुला ठाउँमा राख्नुपर्छ । कपडामा ढुसी लाग्ने सम्भावना बढी हुने भएकाले हावा खेल्ने ठाउँमा राख्नुपर्छ । दराज राखिएको कोठा तातो पनि हुनुपर्छ । घाम पर्ने तातो र हावा चल्ने खुला कोठामा दराजभित्र कपडा राख्दा खराब हुन पाउँदैन । कपडा राख्ने ठाउँ चिसोचाहिँ हुनु हुँदैन । 

६ बर्ष अगाडि

प्रतिक्रिया