पाँचथरको फिदिमका भीम सिगु माटो बेचेर तीन लाख कमाउँछन् । दँशैको बेला चारखम्बे क्षेत्रबाट माटो निकाल्ने र बेच्ने उनको पेशा नै हो ।
“माटो दशैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक आम्दानी गर्ने गरेको छु ”, उनले भने ।
तिनखम्बेबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घारकी कोपिला दर्जीले रत्नेचौकमा माटो बेचेरै दँशैखर्च जुटाउँछिन । दर्जीले छिमेकका गाउँमा माटो पुर्याएर एक माना माटोसँग चारमाना मकै साट्दै आएकी छिन् ।
उनीहरुमात्र होइन दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि देशभरीका माटोको खानी वरीपरिका जनता खुसी भएका छन् ।
दँशै तिहार नजिकिएसँगै घर रंगाउन प्रयोग हुने रातोमाटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । ठाउँ हेरीकन रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ ।
म्याग्दीको रत्नेचौर, खोटाङको चिप्रिङ, गुल्मीको अमरपुर, तनहुँको बन्कट्टा, अर्घाखाँची फुदवाङको राताटारी, सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खाल्टे, पर्वतको कार्किनेटा, प्युठानको गौमुखी गाउँपालिका–७, नारीकोट, कालिकोटको मान्म लगायतका ठाउँहरू रातोमाटोको लागि प्रख्यात छन् । जहाँ लिपपोतका लागि राम्रो रातोमाटो पाइन्छ ।
फिदिमको माटो यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ ।
सिन्धुलीको सुनकोशीका स्थानिय दलित परिवारका सदस्यहरुले जीवीका चलाउनका लागी बेशीको रातो माटोलाई लेकमा लगेर आलु लगायतका तरकारी र अन्नपातसँग साट्ने गर्छन् ।
सहरी क्षेत्रका घर रंग्याउन, विभिन्न ब्राण्डका पेन्टस्, चुना र इनामेलको प्रयोग हुने भएपनि गाउँघरका घर रंग्याउन भने रातोमाटो, पहेंलो र कमेरो माटोकै प्रयोग हुन्छ । गाउँका धेरै घरहरु रातो र सेतो माटोले पोतेर घर रंग्याइन्छ ।
सोह् श्राद्धदेखि नै घर च्योख्याउन लिपपोत सुरु हुने भएकोले मानिसहरू रातोमाटोले ङर लिपपोत गर्छन । शहरमा चुन, रंग, गेरू आदीले घर लिपपोत गर्ने भएपनि गाउँका मानिसहरु घर चोख्याउन माटोले लिप्ने प्रचलन छ ।
“माटोले पोतेपछि घर पवित्र हुन्छ । दसैंमा टीका लगाएपछि मनै शान्ति हुन्छ,” अर्घाखाँची डिभर्नाकी रमा खड्काले भनिन्, “ कुल देवताले बजारको रंग मन पराउँदैनन् ।” उनका अनुसार कस्सले घर राम्रो पोतेको छ र चिटिक्क पारेको छ भन्ने छिमेकीबीच चर्चा पनि चल्छ ।
यहि मौकामा माटोको खानी नजिकै रहेका स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च जुटाउने गर्छन ।
पहिला पहिला दशैंको समयमा माटो निःशुल्क खन्न पाइने भएकोले माटो बोक्न जानेहरुको लर्को लाग्ने गथ्र्यो । तर अहिले भने व्यवसायीक रुपमै माटो निकाल्ने र ट्याक्टर लगायतका सवारी साधनमा राखेर घर घरमा बेच्न हिँड्नेहरु पनि छन् ।
स्थानीयले दँशै बाहेक बर्षभरी हरेक दिन दैलो–सँघार र घर लिपपोत गर्ने माटोको जोहो पनि दँशैको समयमा नै गर्छन ।
प्रतिक्रिया