सरकारी जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नेकपा कपिवस्तुका नेता विश्व कार्कीले ठगी गरेको रु ३८ लाख फिर्ता गरेका छन् ।
गुल्मी र बाग्लुङका १२ जना युवालाई ठगी गरेका कार्कीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रोहबरमा आफूले ठगेको रकम फिर्ता गरेका हुन् ।
सरकारी जागिरका लागि परिक्षा दिएका युवाहरुलाई नाम निकालिदिने ग्यारेण्टी भन्दै कार्कीले रकम असुलेका थिए । कार्कीलाई १२ जनाले जनही २ लाख ६० हजार देखि ४ लाख पचास हजारसम्म बुझाएपनि नाम ननिस्केपछि कार्कीबिरुद्ध नेकपा कपिलवस्तुमा उजुरी गरेका थिए ।
छानविनको क्रममा उनलाई नेकपाले बाडगंगा नगरकमिटीको अध्यक्षबाट निलम्बन गरेर कार्वाही गरेको थियो ।
कार्वाहीपछि सम्पर्कविहीन भएका कार्कीलाई नेकपाले खोजेर पीडितको रकम चुक्ता गराएको पार्टी अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।
पीडितले रु ४५ लाख बुझाएको भएपनि कार्कीले भने आफूले जम्मा ३८ लाख पाएको बताएका छन् । बाँकी ७ लाख उनीसँग सम्पर्क गराउने दलालले लिएको उनको भनाइ छ ।
कार्कीले शिक्षक सेवामा नाम निकालने भनेर ७ जनाबाट ४ लाख ५० हजारका दरले, स्वास्थ्यमा नाम निकाल्ने शर्तमा २ जनाबाट ३ लाखका दरले र र प्रहरीमा नाम निकालिदिने भन्दै ३ जनाबाट २ लाख ६० हजारका दरले रकम लिएको पीडीतहरुले बताएका छन् । पीडितहरुका अनुसार ग्यारेन्टीका साथ जागिर लगाई दिने र केन्द्रिय स्तरका कर्मचारी र नेताहरुलाई रकम बुझाउन पर्ने भन्दै उनले रकम असुलेका थिए ।
निबेदनमा शिक्षक बन्न गुल्मीको मालिका गाउँपालिकाका तारा बहादुर थापा, तेजेन्द्र घर्ती, दिपेन्द्र घर्ती, कुर्ती श्रीस, रुद्र बहादुर पुन, बाग्लुङको बडिगाउँ गाउँपालिकाका पूर्ण बहादुर बिक र श्याम घर्तीले साढे चार लाखका दरले रकम बुझाएको उल्लेख गरिएको छ ।
यस्तै प्रहरी बन्न बाग्लुङका नर बहादुर बिक, गंगाराम बिक, मनोज रसाइलीले ३ लाखका दरले रकम दिएका थिए ।
स्वास्थ्यका लागि गुल्मीका जीत बहादुर सुनार र पदम थापाले २ लाख ६० हजारका दरले बुझाएका थिए । गुल्मीको मालिका गाउँपालिका २ का दिपेन्द्र घर्तीले आफु शिक्षक सेवा अयोगबाट प्राबि शिक्षाका लागि कार्कीलाई साढे चार लाख बुझाएको बताए ।
पीडितको निवेदन पछि आर्थिक विवादमा परेका कार्कीलाई बाणगङ्गा नगरकमिटीको अध्यक्षबाट छ महीनाका लागि निलम्वन गरेको थियो ।
आफूले लिएको रकम फिर्ता गर्दै आफूले पीडितलाई ठग्न नखोजेको तर सम्पूर्ण सम्पत्ति बैंक धितोमा रोक्का रहेकाले बेचबिखन गरी समयमै कारोवार मिलान गर्न चुकेको भन्दै पीडित र पार्टी नेतासमक्ष आत्मालोचना गरेका थिए ।
प्रतिक्रिया