बैंक अफ काठमाण्डूका तत्कालीन (सीईओ) अजय श्रेष्ठसहित ११ जना कर्मचारी पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा श्रेष्ठसहित बैंकका कर्मचारी र ऋणी रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख डीआईजी निरज बहादुर शाहीले जानकारी दिए ।
हेटौंडाका सुरेन्द्र श्रेष्ठलाई नक्कली जग्गाधनी प्रमाणपत्र राखेर बैंकबाट ५ करोडभन्दा बढी रकम दिएकाे आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
सुरेन्द्रले लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण चलाएका थिए।
उनले ऋण तिर्न छाडेपछि साेधखाेज गर्दा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टी भएको छ।
सुरेन्द्रले बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो। उनले राखेको धितो खोज्दै जाँदा खोला बगेको भेटियो।
उनले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले 'किर्ते' कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो।
प्रहरीले यही बिषयमा अनुसन्धान गर्नका लागि अजय श्रेष्ठसहितलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंकका बहालवाला केही कर्मचारी छन् भने केही पूर्व कर्मचारीहरु समेत छन्।
बैंक ब्यवस्थापनले भने अजयको यो मुद्दामा कुनै कसुर नभएको जनाएको छ। 'हामीले ऋणीमाथि अनुसन्धान गर्न भनेका थियौं' बैंक स्रोतले भन्यो, 'ऋण पास गर्नेसम्म अनुसन्धान हुनसक्छ। भ्यालूएसन गर्ने भ्यालुएटरमाथि अनुसन्धान हुनु पर्नेमा सिधै उच्च ब्यवस्थापनको मान्छेलाई समाइयो। यो बद्नाम गर्ने नियोजित षड्यन्त्रजस्तो देखिएको छ।'
बैंक अफ काठमाण्डूकै निवेदनमा उनीहरुलाई पक्राउ गरेको शाहीको भनाइ छ । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको शाहीले जानकारी दिए ।
प्रतिक्रिया