काठमाडौं– विदेशी पर्यटकलाई जानाजान बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेपछि सो क्षेत्रमा हंगामा भएको छ ।
राताेपाटीले लेखेकाे छ-नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा पदायात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी बनाएर व्यवसायीले कमाउ धन्दा गरेकोबारे उजुरी परेपछि मन्त्रालयले छानबिन समिति बनाएको छ ।
पदयात्राका क्रममा बिरामी नपर्ने अवस्था भएपनि विभिन्न उपाय अपनाएर पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी व्यवसायीहरुले कमाउ धन्दा थालेको उजुरी मन्त्रालयमा परेको थियो ।
यसबारे पर्यटन व्यवसायीभित्र समेत बहसको विषयमात्रै भएन तत्कालिन पर्यटनमन्त्री रहेका जितेन्द्र देवलाई केहि व्यवसायीले ध्यानाकर्षण समेत गराएका थिए । तर, उनले सो बारे छानबिन गर्न चासो नदेखाएपनि अहिले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा रवीन्द्र अधिकारी आएसँगै चासो देखाउँदै छानबिन समिति बनाएका हुन् ।
मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर छानबिनलाई अघि बढाएको छ ।
समितिले पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपदको उद्दारको नाममा ट्रेकिङ–ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पतालसमेतको मिलेमतोमा फर्जी विवरणहरु तयार गरी बीमा रकम दाबी गर्ने र ठगी हुने गरेकोबारेमा आवश्यक छानबिन गरी असार १५ भित्र प्रतिवेदन तयार पार्नेछ ।
पर्यटनमन्त्री अधिकारीले ट्रेकिङ व्यवसायीको बदमासीका कारण देशकै बद्नाम हुने अवस्था आउन खोजेको भन्दै यस्ता कम्पनीहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । उनले त्यस्तो गलत धन्दा गर्नेहरु सिधै जेल जाने र इजाजत समेत खारेज गर्ने बताउँदै आएका छन् ।
व्यवसायीहरुको बदमासीका कारण नेपालका लागि विदेशी बीमा कम्पनीहरुले बीमा समेत गर्न आनाकानी गर्न थालेको खबरहरु बाहिर आइरहेको बेला मन्त्रालयले चालेको कदमलाई महत्वका साथ हेरिएको छ ।
यसो त केही पर्यटकले यस्तो गलत धन्दा गर्ने कम्पनीबारे उजुरी गरेपछि उनीहरुलाई ट्रिप एडभाइजरीले कालोसूचीमा राखेको थियो । तर कालोसूची छल्दै फेरि नयाँ कम्पनी खडा गरेर उनीहरुले पर्यटकलाई ठग्ने धन्दा चलाइरहेका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य र टानका वर्तमान र पूर्व कार्यसमितिका केही पदाधिकारी यस्तो धन्दामा संलग्न छन् ।
पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ठगी गरेर कमाएको पैसाले अहिले केहि पर्यटन व्यवसायीले आर्थिक हैसियतमै कायापलट गरेका छन् ।
यस्तै व्यवसाय चलाउनेमा ठमेलमा कार्यलय रहेको फ्लाइट कनेक्सन इन्टरनेशनल नामक ट्राभल्स एजेन्सी अग्रस्थानमा रहेको छ ।
स्रोतका अनुसार फ्लाइट कनेक्सन इन्टरनेशनल ट्राभल्स एजेन्सीका सञ्चालक श्याम सुन्दर कँडेलले विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा ठगी गर्दै आएका छन् ।
एयर डाइनेष्टी हेलिकप्टरमा समेत लगानी गरेका उनको कम्पनीले विदेशी पर्यटकले पर्वतारोहणको लागि विदेशमा गरिआएको बीमाबाट रकम असुल्न नक्कली बिल बनाई बीमा कम्पनीलाई ठग्ने कार्य गर्दै आएको एक ट्रेकिङ गाइडले बताए ।
उनका अनुसार विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि बिरामी भएको बहानामा हेलिकप्टरमार्फत उद्दार गर्ने र आफैं सन्चालक रहेको क्वाइन इन्टरनेशनल अस्पतालमा भर्ना गराई उद्दार र उपचारको नाममा फर्जी बिल बनाएर बीमा भुक्तानी लिँदै आएका छन् ।
यही धन्दाको बलमा सामान्य आर्थिक हैसियत भएका उनले विभिन्न स्थानमा घरजग्गा जोड्नेदेखि होटल रेस्टुरेन्ट र अस्पतालसम्म लगानी विस्तार गरेको बताइएको छ । यसबारे बुझ्न कँडेललाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
नेपालको कूल ग्राहस्थ उत्पादको करीब ७ प्रतिशत हिस्सा ओगट्ने पर्यटन क्षेत्रमा हुने गरेको यस खालको गलत धन्दाले पर्यटन क्षेत्र नै बद्नाम हुने पर्यटन व्यवसायीहरु नै बताउँछन् ।
गलत धन्दा चलाउनेहरुविरुद्ध रहेका केहि पर्यटन व्यवसायीले अब मन्त्रालयले नै छानबिन समिति बनाएसँगै यथार्थ विषय बाहिर आउने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया