४५ अर्ब खर्च गरेर जम्मा ८ अर्ब कमाउँछन नेपालका विमानस्थल, १३ वटा नाफामा, १९ घाटामा

६ बर्ष अगाडि

सरकारले वर्षमा ४५ अर्ब लगानी गर्दा नेपालका विमानस्थलले जम्मा ८ अर्ब कमाउने गरेका छन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नेपालका ३२ वटा विमानस्थलले जम्मा ८ अर्ब कमाउने गरेका हुन् । 

सञ्चालनमा रहेका ३२ मध्ये १३ वटा विमानस्थलले मात्र नाफा कमाउँछन् । बाँकी १९ वटा घाटामा छन् । मुलुकभर ५० वटा विमानस्थल रहेपनि हाल ३२ वटा मात्र सञ्चालनमा छन् । समग्र विमानस्थलको आम्दानीले मुस्किलले सञ्चालन खर्च मात्र धान्ने गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । 

हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक नदेखिएको उनको भनाइ छ । 
अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज , धनगढी लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थलले मात्रै नाफा कमाएका छन् । 

विकास खर्चमा त्यो रकम समावेश वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न नसकिने प्राधिकरणको भनाइ छ । गत वर्ष प्राधिकरणले रु छ अर्ब र विमानस्थल शुल्कबापत रु दुई अर्ब गरी जम्मा रु आठ अर्ब नाफा भएको थियो । 

प्राधिकरणको शुल्क भने वर्षेनी बढ्दो छ । तर आम्दानी न्यून रहेको प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एकमुष्ट रु २३ अर्ब विनियोजन गरिएको छ ।     
    
प्राधिकरणको विवरणमा प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ । 
   
सन् २०२० को शुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ । हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्धारित सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य प्रभावकारीरुपमा भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ ।    
    
 चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । पहिलोपटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महीनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको शुरुआत हुनु अगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने जनाइएको छ ।    

६ बर्ष अगाडि

प्रतिक्रिया