राष्ट्रिय बीमा संस्थानको काम अब एप्समार्फत, सम्पूर्ण विवरण एप्समै

६ बर्ष अगाडि

राष्ट्रिय बीमा संस्थानले एप्स सार्वजनिक गरेको छ । कागजी प्रक्रियाबाट काम गर्दै आएको संस्थानले अब एप्समार्फत काम अगाडि बढाउने भएको हो । 

संस्थानले नयाँ प्रविधि भित्र्याउन ठेक्का आव्हान गरेको थियो तर त्यसका विरुद्ध उजुरी परेपछि हाललाई रोकिएको छ । नयाँ प्रविधि भित्र्याउन अवरोध भएपछि सिधै एप्स सार्वजनिक गरिएको हो । 

‘हामी अहिलेसम्म पनि कागजी प्रक्रियाबाटै काम गरिरहेका छौं, एउटा कम्प्युटरको डकुमेन्ट बोकेरै अर्को कोठामा लैजानुपर्ने अवस्था छ, नयाँ प्रविधि ल्याउने काममा अवरोध आएपछि हामीले एप्स ल्याएका हौं’, संस्थानका प्रशासक कवि प्रसाद पाठकले भने ।  

एप्समा २०७६ साउन १ गते बीमा गरेका बीमितहरुको सम्पुर्ण विवरण राखिएको छ । त्यस्तै, हालसम्म बीमा गरिएका राष्ट्र सेवक कर्मचारीहरुको समेत विववरण समावेश गरिसकिएको छ । २०७६ साउनपछि संस्थानमा ३ लाख १८ हजार नयाँ बीमित थपिएका छन् । 

हाललाई एन्ड्रोइड भर्सनमा उपलब्ध रहेको संस्थानको एप्स केहि समयभित्रै आईफोनहरुका लागि समेत उपलब्ध हुनेछ । प्ले स्टोरमा राष्ट्रिय बीमा संस्थान टाइप गरेपछि एप डाउनलोड गर्न सकिनेछ ।  एपबाटै नयाँ प्रडक्टहरुको जानकारी लिन सकिनेछ । ‘वेभसाइटमा राखिएका सबै जानकारी एप्सबाटै प्राप्त गर्न सकिन्छ’, प्रशासक पाठकले भने । 

यसै आर्थिक वर्षभित्र बीमा संस्थानका सबै बीमितहरुको विवरण एप्समा उपलब्ध गराईसक्ने योजना रहेको पनि उनले जानकारी दिए । सस्थानका अध्यक्ष धनीराम शर्माले पनि कम्पनीलाई प्रविधि मैत्री बनाउने उदेश्यसहित ल्याईएको एप्सले संस्थानको व्यापार विस्तारमा पनि सघाउने अपेक्षा व्यक्त गरे । 

डिजिटल पेमेन्ट छिट्टै हाल संस्थानको प्रिमियम बैंकमा तिरेर भौचरलाई एप्स मार्फत बुझाउन सकिन्छ । केहि समयभित्रै अनलाइनबाटै प्रिमियम बुझाउन सकिने व्यवस्था ल्याउने पनि पाठकले बताए । ‘अहिलेलाई पैसा तिरेको बैंक भौचरको फोटो खिचेर एप्स मार्फत बुझाउन सकिन्छ, केहि समयभित्रै अनलाइनबाटै पैसा तिर्न सकिने व्यवस्था मिलाउँछौं’, पाठकले भने ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया