कालिमाटी तरकारी बजारको अनुगमनमा पुगे कृषिमन्त्री, कडा रुपमा यसरी प्रस्तुत भए

८ बर्ष अगाडि

काठमाडौं–कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एउटा व्यक्तिले १५ वर्षसम्म कालीमाटी फलफूत तथा तरकारी बजारमा  निश्चित ठाउँ किनेर बस्न पाउने कार्यविधि रहेको पाइएको भन्दै  त्यो खारेज गर्ने बताएका छन् । उनले अब नयाँ कार्यविधि बनाएर  त्यहाँ बस्न चाहने कृषकलाई गोला प्रथाद्धारा ठाउँ उपलब्ध गराइने जानकारी दिए । 
सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेपछि पत्रकारसँग कुराकानी गर्दै खनालले भने, ‘पहिलेदेखि बसिरहेकालाई हटाउने चाहना होइन । तर नयाँ कार्यविधि पालना गरेर मात्र बस्न दिइन्छ ।’
उनले कालीमाटीमा बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको स्पेस हेरी ८देखि १० हजार मात्र समितिलाई बुझाउने र विचौलियाले  २ लाख सम्म लिने गरेको पाइएको पनि  बताउँदै अब कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए । 
‘अहिले बसिरहेका कृषकलाई मर्का नपरोस भन्नेमा सचेत छौं । यहाँका पसलका बारेमा धेरै गुनासा र निवेदन आए । मन्त्रालयले सुक्ष्म अध्ययन गर्यो । उत्पादन गर्ने कृषक र उपभोत्ताबीच धेरै अन्तर भेटियो’, उनले भने, ‘किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको, तीन चार वटा तह पार गर्नु परेको देखियो । ढाँट्नलाई अनेक प्रयत्न गरेको पनि पाइयो । एउटा व्यक्तिले १५ वर्षसम्म बस्न पाउने कार्यविधि रहेछ । त्यो खारेज हुन्छ । नयाँ कार्यविधि बनाइन्छ ।’
 
राज्यलाई कमजोर बनाउनेलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबछता जनाउँदै मन्त्री खनालले भने, ‘एकछिनलाई प्रचार गर्न र तमासा देखाउन यो गरिएको होइन । काठमाडौंको आवश्यकता पुरा गर्ने गरी बजार निर्माण गरिन्छ । नत्र बजार अन्यत्रै सारिन्छ । ’
खनालले अहिले नाकाहरुमा १० वटा बजार निर्माण गर्ने गरी ठाउँका बारेमा मन्त्रालय छलफलमा  जुटेकोे पनि सो  बताए । 
अनुमगनमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी पनि सहभागि थिइन् ।

८ बर्ष अगाडि

प्रतिक्रिया