म्याग्दीकी एक युवतीको आँटका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिएको छ । अष्ट्रेलिया लैजाने बाहनामा इण्डोनेसिया पु¥याइएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्रीले लुकाएर राखेको मोवाइलबाट म्यासेज पठाएका कारण अलपत्र छ जनाको उद्धार भएको छ भने मानव तस्कर पक्राउ परेका छन् ।
कसरी तोडियो तस्करको जालो ?
खत्री थोरै पैसा लगानीमा सुरक्षित र छोटो बाटो समुद्री तथा स्थलमार्ग हुँदै अष्टे«लिया पुगिने सपना बोकेर आठ महीना अगाडि इन्डोनेसिया पुगेकी थिइन् ।
ऋण खोजेर गत वर्ष कात्तिकमा भारत हुँदै इन्डोनेसिया पुगेकी खत्रीको सपना त्यतिबेला चकनाचुर भयो जतिबेला खत्रीसँगै नेपालबाट गएका छ जनालाई अपार्टमेन्टमा बन्धक बनाई कुटपिट गर्ने र आर्थिक, शारीरिक तथा मानसिक शोषण गरियो ।
१५ लाख भन्दा बढी पैसा बुझाउन नसकेपछि उनीहरुलाई चर्को यातना दिँदै दलालले इन्डोनेसियन इम्रिगेसनमा जिम्मा लगाए ।
तर दलालसँगै मिलेका प्रहरीले इन्डोनेसियन इम्रिगेसनमा रहँदा पनि यातना दिन छोडेनन् । इमिग्रेसनभित्रबाट समेत पैसा मगाउन थालेपछि खत्रीले लुकाएको एउटा मोबाइलबाट आफन्त, म्याग्दीका परोपकारी र सहयोगी चन्द्रकुमार केसीलाई आफू अलपत्र परेको कुरा म्यासेजमा लेखिन् ।
त्यहि म्यासेजका कारण सात महीनापछि कानूनी प्रक्रिया पूरा गरी खत्रीसँगै अलपत्र सबै नेपाली स्वदेश फर्किएका छन् । “अष्ट्रेलिया लैजोन नयाँ रुट इन्डोनेसियामा धेरै नेपालीहरू मानव तस्करको जालमा फसेका छन्”, उद्धार गरेपछि बेनी आएकी खत्रीले भनिन् ।
खत्रीले इन्डोनेसियाबाट अष्टे«लिया र क्यानडा लैजाने भन्दै दलालले लाखौँ रकम असुलेर इन्डोनेसियामा बन्धक बनाउने गरेको जानकारी दिइन् ।
इण्डोनेसिया पुगेपछि दलालको दवावमा अष्टे«लियाको तस्वीर पुगेँ भन्दै घरबाट पैसा मगाउनुपर्ने बाध्यता छ ।
नेपालीलाई तीन दिनमा एकछाक खान दिएर राहदानी जफत गर्ने गरिएको थप घटना पनि सुनेको खत्रीको भनाइ छ ।
इन्डोनेसियामा रहेका नेपाली दलाल शिव शर्मा र अस्मिरा चौलागाईले भारत पञ्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका परषोत्तमलालको सहयोगमा नेपालबाट ल्याएर यातना दिने गरेको उनीहरुको भनाइ छ । मार्ने योजना सुनाउन थालेपछि नेपालबाट पैसा ल्याउन बाध्य भएको मुनासँगै उद्धार गरिएका विक्रम बरालले बताए ।
बरालसँगै विजय लामा र गणेशप्रसाद रिजालसमेत नेपाल फर्किएका छन् । सोही समूहले नेपाली दलाल चौलागाईं र शर्मालाई समेतसँगै ल्याएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट प्रहरीको जिम्मा लगाइएको थियो ।
त्यस्तै ‘जर्नी टु अष्ट्रेलिया’ नामको फेसबुक पेजबाट सम्पर्कमा आएका थप नेपालीलाई ल्याउन नेपाल आएका मुख्य दलाल पुरषोत्तमलाललाई समेत केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्यूरोले पक्राउ गरेको अलपत्र नेपालीको उद्धारमा सक्रिय चन्द्रकुमार केसीले जानकारी दिए ।
“म्याग्देली चेलीको प्रयासमा एउटा अन्तरराष्ट्रिय मानव तस्करको जालो तोड्न सफल भएका छौँ”, सामाजिक अभियान्तासमेत रहेका केसीले भने, “सयौँ नेपाली युवालाई इन्डोनेसिया लैजाने प्रयास असफल भएको छ ।”
फेसबुक र म्यासेजमार्फत नेपाली दलालको सहयोगमा बेलायत र युरोपका विभिन्न देशको नक्कली पासर्पोट बनाएर फसाउने गरेको अनुसन्धानमा भेटिएको मानव बेचबिखन तथा नियन्त्रण ब्यूरोले जनाएको छ । बन्धक अवस्थामा रहेका नेपालीको प्रयासमा मुख्य दलालसहित नेपालका सम्पूर्ण सहयोगीलाई पक्राउ गरिएको मानव बेचबिखन तथा नियन्त्रण व्युरो काठमाडौँका प्रहरी उपरीक्षक अनुपम शम्शेर राणाले जानकारी दिए ।
प्रहरीले इन्डोनेसियामा नेपाली अलपत्र पार्ने एक भारतीयसहित छ जना पक्राउ परेको मानव बेचविखन तथा नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक राणाले जानकारी दिए । पक्राउ पर्नेमा भारत पञ्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका ३० वर्षीय परषोत्तमलाल, दोलखाको गैरीमुदी गाउँपालिका–१ का ३० वर्षीय शशी लामा भन्ने शशीकुमार तामाङ, म्याग्दीको बेनी नगरपालिकाका ३० वर्षीय डोलेन्द्र कार्की, पर्वतको कुस्मा नगरपालिका–३ का २७ वर्षीय शिव शर्मा र काभ्रेको चौरीदेउराली ९ की २२ वर्षीय अस्मिरा चौलागाईं, काभ्रेको पनौती नगरपालिका ४ का २८ वर्षीय अर्जुन कार्की रहेका छन् ।
प्रतिक्रिया