सहकारीको सेफ र नगद चोरी कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का १८ वर्षीय सुनिल थापा मगर र सोही ठाउँका २१ वर्षीया दानबहादुर थापा मगर रहेका छन् ।
उनीहरुले भदौ २५ गते विहान २ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ रहेको सेफ चोरी गरेका थिए ।
सहकारीको मुल ढोका फोडेर ८५ केजी बराबरको फलामको सेफ तथा उक्त सेफमा रहेको नगद चोरी गरेको अभियोगमा उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौँबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरुको साथबाट चोरी गरी लगेको सेफ काटिएको अवस्थामा फेला परेको छ । फलामको चार फिट दुई इन्चको एउटा गल, सामसुङ मोबाइल एउटा, ५३ हजार नगद र चोरी गर्दा प्रयोग गर्ने एक जोर कपडा समेत बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया