देशको राजधानी रहेको काठमाडौं उपत्यकामा घर बनाएर बस्ने धेरैको चाहना हुन्छ । घडेरी किनेर घर बनाउने झण्झट लिन नचाहनेहरु बनिबनाउ घर किनेर बस्न पनि चाहन्छन् ।
तर पछिल्लो पटक काठमाडौंमा बनिबनाउ घर किन्नेहरुको संख्या अत्यन्तै न्यून रहेको घरजग्गा व्यवसायीहरुले बताएका छन् ।
जग्गा किन्नेहरुको संख्या उल्लेख्य रहेपनि घर किन्नेहरु अत्यन्तै न्यून रहेको घरजग्गा एजेण्ट एसोसिएसन (रीयान) का अध्यक्ष इश्वरप्रसाद खरेल बताउँछन् । उनका अनुसार जग्गा किन्नेहरुबको संख्या भने संघियतापछि पनि कुनै कमि आएको छैन । “संघियतापछि काठमाडौंमा घरजग्गा कारोबार घट्छ कि भन्ने थियो तर घटेन, संघियताले जग्गा कारोबारमा कुनै प्रभाव पारेन”, उनले भने “तर घर किन्नेहरुको संख्या भने तुलनात्मक रुपमा न्युन छ ।”
जग्गाको तुलनामा घरको कारोबार आधा पनि नहुने गरेको प्रभु रीयलस्टेट कम्पनीको भनाई छ । काठमाडौंमा ठूलो भुकम्पको पिडा भोगेको घटना ताजा भएकोले धेरैले बनिबनाउ घरमा आशंका गर्ने गरेको कम्पनीको अनुभव छ ।
“धेरैले जग्गा किनेर आफै घर बनाउन चाहनुहुन्छ”, प्रभुका मार्केटिङ म्यानेजर सन्तोष खड्का भन्छन्, “घर किन्दा अरुले ब्यापारिक प्रयोजनका लागि बनाएको हो वा के हो भनेर धेरैले आशंका गर्ने गर्नुुन्छ ।”
प्रभुले महिनामा २० देखि २५ वटासम्म घर र जग्गा किनबेच गराउने दावी उनको छ । उनको कम्पनीमा उपत्यकाको बुढानिलकण्ठ, भैंसेपाटी, महाराजगंज, बालुवाटार, लाजिम्पाटमा घरजग्गा कारोबाट बढी छ।
काठमाडौंमा घर बेच्नेहरु धेरै भुकम्प भन्दा पहिलाको घरहरुछन् । कतिपयले बेच्नकै लागि पनि घर बनाएका छन्। उनीहरुले धेरै घर बेच्न चाहन्छन् । जसका कारण भुकम्प पहिलाका र बेच्नकै लागि कमसल सामान राखेर घर बनाएकाहरुसँग झुक्किन सकिन्छ भनेर धेरैले झ्याप्प घर किन्न चाहन्नन् । “घर किन्नेहरुले नयाँ घर हो भन्ने कुरामा विश्वास र बेच्नका लागि बनाएको होइन भन्ने कुरामा ढुक्क भएपछि मात्र घर किन्नुहुनछ”, नेपालभूमि रियलस्टेटका म्यानेजर रोजिता तामाङ भछिन् ।
अर्को कुरा परिवारका सबै सदस्य राम्रो मुलुकमा स्थानान्तरण भएपछि पनि काठमाडौका घर बेच्न चाहन्छन् । “छोराछोरीहरु सबै विदेशमा भएपछि आफू पनि छोराछोरीसँगै जान चाहने तर दुःख गरेर बनाएको घर थोत्रो हुने डरले बेचेरै जान चाहनेहरु पनि हामीले भेटेका छौँ”, घरजग्गा कारोबार नेपालका डाइरेक्नटर प्रणव छत्कुलीले भने ।
कोही बैंक वा वित्तिय संस्थाको कर्जा तिर्न नसकेर पनि घर विक्रि गर्न आत्तिन्छन् ।
घर किन्नेहरु सबैले सबै आफूसँग सबै नगद भएर मात्र किन्दैनन् । केही रकम भुक्तानी गर्ने र बाँकी कर्जा लिएर तिर्नेहरु धेरै हुनछन् । तर अहिले बैंकहरुका ‘लिक्वीडिटी प्रोब्लम’ का कारण पनि कर्जामा समस्या भएकोले घर किन्नेहरु कम छन् । घर किन्ने सोँच भएकाहरु आफूसँग भएको नगदले घडेरी किनेर राख्छन् । समृद्धि रियलस्टेका अनुसार काठमाडौंमा घर बेच्नेहरु धेरै हुँदा पनि त्यसको अनुपातमा किन्नेको संख्या न्यून हुनुको कारण कर्जाको समस्या पनि हो । किन्नेहरु कम हुनुको कारण भनेको ऋणको समस्या पनि हो ।
उपत्यकामा १ करोड देखि २० करोड सम्मका घरहरु विक्रीका घरहरु रहेको व्यवसायीहरुको भनाइ छ । त्यो भन्दा सस्तो घरहरु एकाध भएपनि तीनिहरु भनेको पुराना घरहरु, गोरेटो बाटोमा बनेका घरहरु र भूकम्प भन्दा पहिला बनेका घरहरु छन् । त्यस्ता घरहरु ग्राहकको रोजाइमा नै पर्दैनन् ।
घर किन्न खोज्नेहरुमध्ये डेढ करोडभन्दा कम मूल्यका घर खोज्नेहरु धेरै छन् । तर त्यति मूल्यका अधिकांस घर भूकम्प पहिलाका छन् । “भूकम्पपछि घर बनाएकाहरुले बेच्न चाहँदैनन्, किन्नेहरु भूकम्प पहिलाका किन्न चाहँदैनन”, समृद्धिका एक सदस्य भन्छन् “त्यसैले पनि यस्तो समस्या देखिएको हो ।”
प्रतिक्रिया