अत्याधिक माग बढेपछि ५० र १०० को नयाँ नोट व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे हम्मे

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकलाई चाँडबाडको समयमा नयाँ नोट व्यवस्थापनका लागि हम्मे हम्मे पर्ने भएको छ ।साना नोटको मूल्य पनि नभएको र त्यसले केही पनि नआउने भएकाले उपभोक्ताले कम्तमिा पनि रु ५० र १०० का नोटमा आँखा लगाएका छन् ।

ती नोटको माग अत्याधिक बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।गत वर्षको दशैंमा पनि रु ५० र रु १०० दरका नोटको माग अत्याधिक भएको थियो । तर, राष्ट्र बैंकलाई ती दरका नोट व्यवस्थापन गर्न गाह्रो परेको थियो ।दशैंको टीका लगाइ दिएर साना बालबालिकदेखि नै रु ५० र  रु १०० दरका नोट दिन थालिएपछि ती दरका नोटको माग बढी रहको बैंकको बुझाइ छ ।

उपभोग्य वस्तुको मूल्य वृद्धिसँगै साना दरका नोट प्रचलन कम हुन थालेको छ । रु १० रु २० ले सानोतिनो खेलौना, चाउचाउसम्म पनि नआउने भएपछि बिस्तारै ती दरका नोटमा कमी आउन थालेको बुझाईमा केन्द्रीय बैंक पुगेको छ ।दैनिक उपभोग्य वस्तु, तरकारी, दाल, चामल, पिठोलगायतका बस्तुको भाउ पनि त्यसैगरी बढेको छ । लत्ता कपडा, भौतिक निर्माणका सामग्री बढेको बढ्यै छन् । बस्तुको मूल्य बढेसँगै साना दरका नोट बिस्थापित हुन थालेका हुन् ।

राष्ट्र बैंकले रु १ र रु २ का कागजी नोट पनि छाप्न छाडेको छ । ती दरका सिक्का पनि कम छाप्न थालिसकेको छ । त्यस्तै राष्ट्र बैंकले रु ५ र  रु १० दरका नोट पनि क्रमशः कम छाप्न थालिएको छ ।अहिले राष्ट्र बैंकले अहिले ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ ।

राष्ट्र बैंकले पनि रु ५० र रु १०० दरका नोटको माग बढेसँगै व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छ । आगामी दशैंका लागि नयाँ नोट साट्नका व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल शुरु गरेको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका नयाँ नोटको सटही खुल्ला गर्न लागेको हो । एकजना व्यक्तिलाई २७ हजारका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले गत वर्ष जस्तै विभिन्न २१ स्थानबाट नयाँ नोट सटहीको व्यवस्था मिलाउँदै छ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर जिल्लामा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गर्न लागेको हो ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिने तयारी भइरहेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुले असोजको दोस्रो साताबाट नयाँ नोट उपलब्ध गराउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले दशैं लक्षित गरी रु ६३ अर्ब नयाँ नोट बजारमा ल्याउन लागेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया