नेपाल उद्योग परिसंघले योगदानमा आधारित सुरक्षा योजना कार्यान्वयनमा थप गृहकार्य गर्नुपर्ने बताएको छ ।
कोषको लगानी नीति, मौसमी कामदार, विदेशी कामदार, दैनिक ज्यालादारी कामदार, बीमा, स्वास्थ्य लगायतका विषय लगायतका धेरै विषयमा अझै अन्यौल कायम रहेकाले गृहकार्य आवस्यक रहेको परिसंघले बताएको हो ।
परिसंघले आज सामाजिक सुरक्षा योजना कार्यान्वयन सम्बन्धि परिचर्चा कार्यक्रममा यस्तो धारणा सार्वजनिक गरेको हो ।
परिसंघका अध्यक्ष सतिश कुमार मोरले समस्या समाधानका लागि विशेषज्ञ कार्यदल बनाइ सरकार र कोषलाई छिट्टै लिखित सुझाव दिने बताए ।
“कोषले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षामा ठूलो गृहकार्य गर्न आवश्यक तथा लगानी नीति छिटो ल्याउन जरुरी छ”, उनले भने “जसले थप श्रमिकहरुलाई आकर्षित गरोस् र भोलीका दिनमा श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि गरेर उत्पादकत्व बढाउन सकोस् ।”
सामाजिक सुरक्षा तथा श्रम विषयमा कार्यपत्र प्रस्तुत गर्दै परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले धेरै विषयमा अझै अन्यौल कायम रहेकाले गृहकार्य आवस्यक रहेको बताए ।
परिचर्चामा उठेका विषयमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा परिसंघ र अन्य सरोकारवालाहरुको सहयोग महत्वपूर्ण रहेको बताए ।
कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले कोषमा दर्ता हुने श्रमिक तथा रोजगारदाताको संख्या आजसम्म ५१ हजार हाराहारीमा श्रमिक र ५ हजारको हाराहारीमा रोजगारदाता प्रतिष्ठान दर्ता हुन आएको जानकारी दिए । उनले कोषले छिट्टै लगानी नीति ल्याएर थप प्रतिफलको विषयमा स्पष्ट पार्ने पनि बताए ।
कार्यक्रममा श्रम विभागका महानिर्देशक सनत केसीले श्रमिक र रोजगारदाता बीचको सम्बन्ध सुमुधुर राखी उत्पादकत्व बढाउन नीतिगत सुधारका लागि विभाग तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया