मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्र श्राद्ध) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् ।
तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) शुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी थालेका हुन् । पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।
अष्टमी शुरु हुनु एक घडी (करीब साढे दुई घण्टा) पूर्व शुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै शुरु हुने गरेको हो ।
यस पर्वमा निराहार व्रत शुरु गरिएपछि समापन नगरुञ्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिन नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको रुपमा रहेको मिथिला परम्पराका ज्ञाताहरु बताउँछन् । पहिले सन्तान(छोराछोरी)को कल्याणको कामनार्थ गरिँदै आइएको यो व्रतपछि छोराको नाउँमा मात्र सीमित गरिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउछन् ।
यसपाली यो व्रत तिथिको घटबढले आउने शनिबार असोज ४ गते परेको छ । आगामी असोज ३ गते राति २.३० बजेअघि दही चिउरा ‘ओगटन’ (दर) खाएर शनिबार निराहार व्रत बस्ने पुत्रवती महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एक घडी कटाएपछि व्रत समापन गर्नेछन् । यसपालि असोज ५ गते दिउँसो २.३० बजे कटाएर मात्र व्रत समापन गर्न सकिने छ ।
व्रतमा एक अहोरात्र कटाएर नवमी तिथि पर्खदा यसपालि ३६ घण्टासम्म उपवास गर्नु पर्ने यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्पराका ज्ञाता एवं् कर्मकाण्डी पुरोहित ब्राह्मण बर्दिवास नगरपालिका–२ का महेशकुमार झा बताउछन् ।
“तोहर माय जितिया कैने छौ त आ भिड”(तिम्री आमाले जितिया गरेकी छन्भने आउ भिड) मिथिला क्षेत्रमा हुने झै–झगडामा एकअर्को पक्षलाई ललकार्नु प¥यो भने यस्तै भन्छन् । झै–झगडा र ललकार्ने कुरा ठीक नभए पनि जितियाको महत्व भने यस्तो भनाइले उजागर हुने महोत्तरीकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम यादव बताउछन् । “सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ” प्रधानाध्यापक यादवले भने–,“कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गरिन छन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा यो व्रतबारे गरिने यस्ता टिप्पणीले पनि यसको महत्तो बुझ्न सकिने यादवको थप भनाइ छ ।
सन्तान(पुत्र) को कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ । यस व्रतमा पुरुषहरुले पितृ पक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ थारुटोल बनराकी ४० वर्षीया रासोदेवी थारु बताउछन् ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्रजलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । व्रतालुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ ।
सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।
मिथिला लोक संस्कृतिको अभिन्न अङ््ग मानिदै आइएको यो पर्वबारे अब पछिल्लो पुस्ताले बहस र तर्कवितर्क भने गर्न थालेका छन् । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्य वृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्ताले लगाएका छन् ।
पर्वको महत्व र गरिमालाई अझ मजबुत बनाउन अब सन्तानका लागि भनेर व्रतको कामना गर्ने परम्परा बसाल्नुपर्ने महिला जागरण क्षेत्रमा क्रियाशील रहँदै आएका अधिकारकर्मीको भनाइ छ । वास्तवमा पहिलेका आमाहरुले सन्तानकै लागि यो व्रत शुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर घुसाइएको महोत्तरीकै बर्दिवास नगरपालिका–९ की सामाजिक, राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउछन् । आपूmले २५ वर्षदेखि शुरु गरेको यो पर्व ‘पुत्र’का लागि मात्र नभएर सन्तानको कल्याणका लागि गर्दै आएको दिपीयाले बताउछन् ।
व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जीतवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बुढापाकाहरु बताउँछन् ।
राजा जीतवाहन र जितिया पर्वको चर्चा भविष्य पुराणमा भएकाले यसको थालनी द्वापर युगमा नै शुुरु भएको हुनसक्ने जलेश्वर नगरपालिका–६ का साहित्यकार महेश्वर राय बताउनुहुन्छ । यसक्षेत्र ९मिथिला०का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै सार्वजनिक बिदा दिनपर्ने आवाज सघन रुपमा उठ्दै आएको छ ।
प्रतिक्रिया