एउटै शिशुको दुईपटक मृत्यु, अस्पतालको लापरवाही

६ बर्ष अगाडि

एउटै बच्चाको दुईपटक मृत्यु भन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ ।  तर यो सत्य घटना भेरी अस्पताल नेपालगञ्जले  नै घोषणा गरेको हो । 

अस्पतालले जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले जन्माएको नवजात शिशुलाई दुईपटक मृत घोषणा गरेको हो । 

कमलाले शुक्रबार बिहान ५ः३० बजे अस्पताल शिशु जन्माएकी थिइन् । सामान्य अवस्थामा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रसूतिकक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए ।

अस्पतालले शिशुबा बाबु मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सदगत् गर्न बुझाएको थियो । शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगञ्ज बुलबुलियास्थित हिन्दू मसानघाट लगेका थिए ।  

मसानघाटमा खाल्डो खनेर शिशुलाई गाड्न तयार तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन् । कालो प्लाष्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए ।     

कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए । त्यसपछि शिशुलाई पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० ग्राम तौल रहेको महीना नपुगी जन्मेको शिशु (छोरी)को अस्पतालको सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।  

अस्पतालको चरम लापरवाहीका कारण शिशुको मृत्यु भएको परिवारको आरोप छ । “अस्पतालको लापरवाहीका कारण छोरीको मृत्यु भयो ”,  मिलनले भने ।     

भेरी अस्पतालको चरम लापरवाहीका कारण ज्यूँदै बच्चालाई मृत घोषित गरेको समाचार सार्वजनिक भएपछि भेरी अस्पतालले आफ्नो गल्ती ढाकछोप गरिरहेको छ ।     

प्रिम्याच्युयर (महीना नपुगी जन्मिएको) बच्चाहरुमा पूर्वानुमान गर्न गाह्रो हुने भन्दै भेरी अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गरी आफ्नो गल्ती ढाकछोप गरेको हो ।

“समयावधि नपुगी जन्मिने र कम तौल भएका बच्चाको अवस्था चुनौतीपूर्ण हुन्छ । शारीरिक अवस्थाको कारणले गर्दा हुनपुगेको घटना हामी सबैका निम्ति पाठ हुन पुगेको छ ”,  भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका असावधानीहरु भविष्यमा हुन नदिन अस्पतालको प्रतिबद्धता जाहेर गर्दछु ।” 

६ बर्ष अगाडि

प्रतिक्रिया