नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट सूचना कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने भएको छ ।
हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवन लगायत तराई/मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ ।
निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष्यमा नै कर्पोरेसनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिएको कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।
कर्पोरेशनको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्पोरेशनका कार्यकारी अधिकृत श्रेष्ठले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको बिक्री वितरण गर्दै आएको जानकारी दिइन् ।
हाल कर्पोरेशनले नुनमा आयोडिन मिसाइ प्रमुखरुपमा बिक्री वितरण गर्दै आएको छ । स्वास्थ्य सर्वेक्षणका अनुसार आयोडिनयुक्त नुनको पहुँच पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकामा पुगेको छ । यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको लक्ष्यभन्दा माथि रहेको छ ।
यसैगरी आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९० प्रतिशतभन्दा माथि रहेको छ । कर्पोरेशनले वार्षिक दुईलाख मेट्रिक टन नुन देशका ७७ जिल्लामा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनले गलगाड रोग नियन्त्रणमा कोशेढुङ्गाको काम गर्दछ ।
कर्पोरेशनका वरिष्ठ व्यापार अधिकृत ब्रजेश झाका अनुसार कर्पोरेशनले आफ्ना नेपालगञ्ज, धनगढी, सिमरा, लालगढ र विराटनगरका पाँचवटा गोदाम घरमा छ महीनालाई पुग्ने रु दुई अर्बभन्दा बढीको नुन भण्डारण गर्दै आएको छ ।
पछिल्लो समय आयोडिन नुनका कारण गलगाड रोगीको सङ्ख्या शून्यमा झरेको उहाँले जानकारी दिए । सन् १९८५ मा नेपालमा सो रोगीको सङ्ख्या ४४ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया