सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले यो वर्षदेखि नतिजा दिने बताएका छन् ।
काभ्रेको पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि नतिजा देखिने बताए।
“हामी देश निर्माणको महाअभियानमा छौँ, त्यस कारण पनि अब सरकारको कामको नतिजा देखिँदै जानेछन् ”, मन्त्री बाँस्कोटाले भने, “गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै जानेछन् र केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिनेछ ।”
कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको भन्दै उनले सरकारले छोटो समयमा पाइपलाइनमार्फत तेल ल्याउन सफल भएको बताए ।
समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको उनको भनाइ छ ।
मन्त्री बाँस्कोटाले वर्तमान सरकार अरुजस्तो ‘ढटुवा’ सरकार नभएको दाबी गर्नुभयो । “हामी जे बोल्छौँ, त्यही गर्छौं, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन”, उनले भने ।
मन्त्री बाँस्कोटाले गौरवका अन्य योजनामा नवलपरासीमा फलाम उद्योग स्थापना हुँदै गरेको, नेपालमा पट्रोलियम खानी एवं उत्पादनका लागि अन्वेषण परीक्षण गर्न विदेश पठाइएको र रु एक खर्ब १० अर्बको लगानीमा सुनकोशी नदीमा विद्युत् उत्पादनका लागि अध्ययन भइरहेको बताए ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड केही समयमै छ लेनको निर्माण शुरु हुने र सम्पन्न भएपछि धुलिखेलदेखि चार लेनको बनाउन थालिने उनको भनाइ छ ।
प्रतिक्रिया