रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ छेर्लोबाङकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा अशल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाजु जय बुढा, बुढाका श्रीमती र दुई छोरी रहेका छन् । बुढाकी ३६ वर्षीया श्रीमती मुल ज्योती, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको गुरुङले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरेको थियो । उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलमा खटिएका थिए ।
पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिए ।
प्रतिक्रिया