राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लि. पूर्ण रूपमा अटोमेशनमा गएको छ ।
अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ ।
पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुने संस्थाका अध्यक्ष सुरेश हमालले बताए ।
कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।
अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत काट्न सकिनेछ ।
यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपी मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ ।
२०३७ सालमा देखि अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समिति हुँदै अहिले त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लिका रूपमा रहेको छ । कम्पनीले करिब १०० वटा रुटहरुमा आफ्नो यातायात सेवा संचालन गरिरहेको छ ।
प्रतिक्रिया