प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूह परित्याग गरी अवैध धन्दा र लुटपाटमा संलग्न हुँदै आएका ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘गोरे’ भनिने योर्साङ लामा समेत रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार साँझ काठमाडौंको बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरु अवैधरुपमा केरुङ नाका हुँदै आउने सुन लुटपाटका साथै विभिन्न अवैध गतिविधिमा संलग्न हुँदै आएका थिए ।
पक्राउ पर्नेमा रसुवा छोदिम्बु गाउँपालिका–४ का घर भइ हाल स्वयम्भू बस्दै आएका लामा, नुवाकोट तारकेश्वर गाउँपालिका–१ घर भई जगरंखु बस्ने राम बहादुर तामाङ, सोही ठाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका–७ का पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ का कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका–१० का धर्मराज तामाङ रहेका छन् ।
यसैगरी नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका–५ का बिजय तामाङ, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका–५ का युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका–६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २८ वर्षीय राजन तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट प्रहरीले सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो बरामद गरेको छ ।
प्रतिक्रिया