गौतमबुद्ध विमानस्थलमा पाँचवटा जहाज पार्किङ्ग, १० हजार किलाेलिटर इन्धन भण्डार

६ बर्ष अगाडि

निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुरुमा पाँचवटा जहाज पार्किङ्ग गर्न मिल्ने गरि पार्किङ वे निर्माण गरिएको छ । 

विमानस्थल संचालनमा आइसकेपछि बोइङ ७५७, एयबस ३२०, एयरबस ३३० लगायतका ठूला पाँचवटा जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसपछि विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा विमानस्थलमा ठूला किसिमका जहाजका लागि १५ वटा पार्किङ वे निर्माण गर्ने योजना रहेको जनाइएको छ । 

 विमानस्थलमा १० हजार किलोलिटर क्षमताको इन्धन भण्डार निर्माण गरिने भएको छ । 

त्यसका लागि प्राधिकरणले इन्धन भण्डारको लागि सात विघा जग्गा नेपाल आयल निगमलाई दिने निर्णय गरेको छ । 

हवाइइन्धन भण्डारणका लागि टैंकहरु निर्माणको प्रकृया पनि शुरु गरिसकेको आयल निगमका उड्डयन विभाग निर्देशक दीपक बरालले  बताए । 

त्यसका लागि इन्जिनियरिङको जिम्मा पाएको पुल्चोक इन्जिनिरिङ कलेजका इन्जिनियरहरुले डिपोको नक्सा तयार पारिरहेका छन्। उनका अनुसार प्रारम्भिक सर्वेक्षणको काम सुरु भइसकेको छ । 

आगामी दुई वर्ष भित्र १० हजार किलोलिटर क्षमताको इन्धन भण्डार संचालनमा आइसक्ने उनले बताए । 

प्राधिकरणले गरेको अध्ययन अनुसार विमानस्थल संचालनमा आइसकेपछि दैनिक एक लाख ५० हजार लिटर इन्धन खपत हुने छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया