काठमाडौंका हाउजिङहरु असुरक्षित, शहरी विकास मन्त्रालय किन भयो रमिते

६ बर्ष अगाडि

काठमाडौं – सरकारी निकायको लापरवाही कारण काठमाडौं उपत्यका भित्र निर्माण भएका हाऊजिङहरु पूर्ण रुपमा असुरक्षित रहेका छन् । समस्याग्रस्त घोषणा मात्रै हुन बाँकी रहेको सिभिल होम्सका घरहरु समेत कमजोर निर्माण सामग्री प्रयोग भएका कारण असुरक्षित भएको रिपोर्ट आएको केही दिन बित्न नपाउँदै ग्रीनहिल सिटी मूलपानीमा निर्माणाधीन घर भत्किएको छ ।

 सिभिल होम्सका प्रमुख समेत रहेका इच्छाराज तामाङले निर्माण गरेका अधिकाशं हाउजिङमा कमजोर निर्माण सामग्री तथा माटो परिक्षण समेत नगरेको पाइएको छ । यस्तै सुधिर बस्नेतको हाउजिङ विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । हजारौ नागरिकको रकम लुटपाट गरेका बस्नेतले फेरी पैसा उठाएर घर बनाउने भन्दै साजिश शुरु गरेका छन् ।

काठमाडौं उपत्यका भित्र एकाध तला मात्रै अग्ला भवन बनाउन मिल्ने भूधरातल रहेको छ । त्यसको मान्यता विपरित गएर ठूला र अग्ला भवन बनाउने स्वीकृति दिइएको छ । शहरी विकास मन्त्रालयको कमजोर नियम तथा पैसा लिएर जे जस्तो गर्न पनि दिइएको स्वीकृतिले हाउजिङको बसाई असुरक्षित बन्दै गएको छ । सोही क्रममा केही दिन पहिलेको वर्षाका कारण ग्रीनहिल सिटी भित्रको घर भत्किएको छ । 

घरपछाडि लगाइएको सियर वालमाथिको भागमा स्थानीयले बाटो बनाइदिनका लागि हाउजिङ कम्पनीलाई दबाब दिँदै आएको दावी गरिएको छ । सोही बाटो निर्माणका लागि कम्पनीले केही दिनदेखि माटो खसाल्ने काम गरेको थियो । घरसँगै बनाइएको सियर वालपछाडिको भागमा थुपारेर राखिएको माटोको थुप्रो हुँदै पानीको भेल घरको जगभित्रैसम्म छिर्दा घरमा क्षति पुगेको बताइएको छ । सो हाउजिङले १०० वटा घर बनाइरहेको छ । ती सबै घर कमजोर रहेको जानकारहरुको भनाइ छ ।  

पानीको भेल पसेर लडेको भनिएको घर ढल्दा पनि एक ढिक्का जस्तै नै रहेकाले यसमा प्रयोग भएको निर्माण सामग्री वा निर्माण गुणस्तरमा त्रुटिको सम्भावना देखिएको छ । घरले चर्चेको केही जमीन भिरालो रहेकाले जमीनको संरचना र माटोको स्तर नै घर लड्नुको कारण हुनसक्ने अनुमान गरिएको छ । कम्पनीले संरचना निर्माण पूरा गरिसकेको यो घर अहिलेसम्म कुनै पनि ग्राहकले किनिसकेका भने थिएनन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया