काठमाडौं बसेर जाजरकोटको पुल डिजाइन गर्ने कम्पनीको लापर्वाहीका कारण छिन्चु जाजरकोट सडकमा पर्ने पासागाड पुल निर्माण पाँचवर्षदेखि अलपत्र परेको छ ।
आइएमई आरसी कन्सल्टेन्सी, ललितपुरले फिल्डमै नपुगी पासागाड खोलाको पुलको गलत डिजाइन गरेका कारण ठेक्का सम्झौता भएको पाँचवर्षसम्म पुल निर्माण हुन नसकेको हो ।
सडक विभागले परामर्शदाता कम्पनी आइएमई आरसी कन्सल्टेन्सी, ललितपुरलाई पुलको डिजाइन गर्ने जिम्मा दिएको थियो ।
तर उक्त कम्पनीले रु सात लाख लागतमा गरको डिजाइन गलत भएको र लागत समेत नमिलेको कारण पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।
“निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइन तथा सम्झौताअनुरुपको लागत र निर्माणकार्यको तालमेलसमेत मिलेको छैन”, उनले भने ।
रु तीन करोडमा पुल निर्माणको ठेक्का पाएको लुम्बिनी–आशिष जेभी निर्माण सेवा निर्मााणस्थल पुग्दा पुलको डिजाइन र फिल्ड फरक देखिएको थियो । त्यसपछि निर्माण कम्पनीले पुल निर्माणको काम शुरु नगर्दा ठेक्काको ५ वर्ष वित्दा पनि पुल बन्न सकेको छैन । ठेक्का सम्झौतामा पुल दुई वर्षमै निर्माण सम्पन्न भइसक्नुपर्ने छ ।
उक्त सडक निर्माण भएको ११ वर्ष र कालोपत्रे भएको चारवर्ष भइसकेको छ । जाजरकोट सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा पुल नबनेपछि पानी पर्नेबित्तिकै सडक ठप्प हुन्छ।
सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम शुरु गर्ने कम्पनीले जनाएको छ । आइएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अघि बढाउन लागेको डिभिजन प्रमुख भट्ट भनाइ छ ।
स्टिमेट बदलिने तर ठेक्का नबदलिने उनको भनाइ छ । यो पुल निर्माण नहुँदा जाजरकोट मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ ।
गतल डिजाइन गर्ने र काममा लापर्वाही गर्ने परामर्शदाता कम्पनी आइएमई आरसी कन्सल्टेन्सी, ललितपुरसँग काम नगर्न सडक विभागले सुझाव दिएकाे छ ।
प्रतिक्रिया